बिरालो


अचानक बाटोमा कालो बिरालोको बच्चा भेटें ।
अनुमानमा १० देखि १५ दिनको हुनुपर्छ । आफ्नै बलले हिँड्न सक्छ तर दौडन सक्दैन ।मलाइ देखेर डरायो । भर्खरै खुलेका नीला आँखा फराकिलो बनाएर मेरो अनुहार हेर्‍यो । भाग्न त खोज्यो तर सकेन । मैले समातें । खासमा, म बिरालो सोखिन होइन । आजसम्म घरमा बिरालो पालेको छैन । बाटोमा अलपत्र परेको देखेपछि उठाएँ । जानवरलाइ प्रेम गर्नुपर्छ भन्ने कुराबाट प्रेरित छु ।
पछिल्लो पल्ट मैले जनावरसम्बन्धी थुप्रै डकुमेन्ट्री र फिल्महरु हेरेको छु । 'हाचिको', 'द लास्ट ट्राप'जस्ता फिल्म हेरेपछि कुकुरलार्इ माया गर्न थालेको थें । नत्र म कुकुर पटक्कै मन नपराउने मान्छे हुँ ।
माया गर्न पनि बुद्धि पलाउनुपर्छ । मेरो बुद्धि पलाएको छ । यही बुद्धिको उपज अहिले सडकबाट यो बिरालोको बच्चा उद्धार गर्दैछु ।
कुनै कुनै मान्छेलार्इ बिरालो पटक्कै मनपर्दैन । जस्तो: मेरो भाइ । उसले बिरालो जहाँ देख्यो, त्यहीँ ढुंगाले हान्छ । समातेर जिउँदै खोलामा फालिदिन्छ । एकपल्ट मेरै आँखाअघि माउलार्इ खोलामा र बच्चालार्इ सडकमा फालेर क्रूरता प्रदर्शन गर्‍यो ।
ठीक मेरो भाइजस्तै क्रूर हृदय भएको मान्छेले यो बच्चा फालेको हुनुपर्छ ।
हातमा उठाएँ । आत्मरक्षाको लागि खुट्टाका नंग्रा बाहिर निकाल्यो । बल लगाएर मेरो हातबाट फुत्कने प्रयास गर्‍यो ।
हातका औंलाले टाउकोदेखि पुच्छरको टुप्पोसम्म स्पर्श गरें । कान सुम्सुम्याएँ ।
उसले आफ्ना नंग्रा भित्र हुल्यो । मुख बन्द गर्‍यो । बिस्तारै सास फेर्‍यो । आँखा मेरो अनुहारतिर फर्कायो ।
मैले प्रेम गरें । मान्छे होस् कि जनावर- प्रेमको सञ्चार सबैभन्दा छिटो हुन्छ, शायद प्रकाशको गतिजत्तिकै । उसले बुझ्यो मेरो प्रेमको स्पर्श ।
घर लिएर आएँ । घरको सबैभन्दा ठूलो कोठामा छाडिदिएँ । कुनै तेस्रो दुनियाँमा पुगे जस्तो लागेछ क्यार ! कोठाको दुनियाँ देखेर अत्तालियो । जीवन रक्षाको लागि अन्तिम प्रयास गर्दै भाग्न खोज्यो ।
एक छिनपछि शान्त भयो ।
शायद जिन्दगीलार्इ माया मार्‍यो । फाँसीमा झुन्ड्याउन लागेको कैदीझैं शून्यभावमा मलाई हेर्‍यो ।
मैले फेरि समातेर हातमा लिएँ । टाउकोदेखि पुच्छरसम्म सुम्सुम्याएँ ।
फेरि प्रेमको सञ्चार भयो । फेरि मैले प्रेम गरें । फेरि उसले बुझ्यो ।
पाउरोटीको टुक्रा खान दिएँ, सुँघ्यो मात्र । मुखमा हुलेर चपाउन जानेन । कचौरामा हालेर दूध दिएँ । त्यो पनि सुँघ्यो मात्र ।
मेरो अनुहारमा हेरेर म्याउँ ! म्याउँ ! गर्‍यो ।
मलाई छाडिदे नत्र म नखाई मर्छु भनेझैं विद्रोह गरिरह्यो । केही खाएन ।
एक मनले लाग्यो- छाडिदिम् । स्वतन्त्र होस् । प्रकृतिमा जसरी बाँच्छ बाँचोस् । मैले यसरी दया देखाउँदा बाँच्ने कलामा कृत्रिमता हुन्छ ।
अर्को मनले भन्यो- यसलार्इ आफ्नी आमाले बाहेक अर्को तेस्रो प्रकृतिले बचाउन सक्दैन । यसले आमाको दूधबाहेक अरु खानेकुरा चिन्दैन । अरु खानेकुरा खान जान्दैन । यसलार्इ आफ्नी आमाले आफ्नो दूध चिनाएकी छे, अरु चिनाएकी छैन ।
तर आमा कहाँ छे ?
कुनै क्रूर हृदयबाट चिर समाधिमा हामफालिसकी होली ।
साँझ बजारबाट दूधदानी किनेर ल्याएँ । मान्छेको बच्चालाई दूध चुसाएझैँ चुसाएँ ।
एक-दुर्इ पल्ट दूध चुसेपछि मलार्इ राम्रै चिन्यो । नबोलाए पनि काखमा आउन थाल्यो ।
उसलार्इ आफ्नै आमाजस्तो त लागेन होला तर प्रेम गर्ने कुनै मनोकारी जस्तो अवश्य लाग्यो ।
१५ दिनपछि कोठामा चकचक गर्न थाल्यो । सोफा, सिरकमा लडिबडी खेल्न थाल्यो । कुनै सुन्दर बालक जस्तो देखियो ।
नाम राखें, मेन्जल !
मैले जानेका भाषाहरुमध्ये एक भाषामा मेन्जलको अर्थ हुन्छ, उत्सव वा चाडवर्प !
यदि म र ग्राफीबीच सम्बन्धबिच्छेद हुँदैन थियो वा बच्चा भएर सम्बन्धबिच्छेद भएको थियो भने हाम्रो प्यारो सन्तानको नाम मेन्जल हुने थियो ।
० ० ०
विवाहपूर्व नै हामीले बच्चाको नाम के राख्ने भनेर छलफल गरिसकेका थियौं । दुवैको सहमति मेन्जल नै थियो ।
अझै पनि साथीभाइले आफ्ना छोराछारीको नाम के राखूँ भनेर सोधे भने दिमागले सोच्नुअघि नै मुखबाट मेन्जल भन्ने शब्द निस्कन्छ ।
एक साथीले मेरै सिफारिसमा छोराको नाम मेन्जल राखेको छ ।
ग्राफी र मेरो प्रेम बिहे भएको हो । त्रिविको अंग्रेजी डिपार्टमा हाम्रो भेट भएको थियो ।
बिहेअघि हामी जागिरे थियौं । म कलेज पढाउँथें । ग्राफी आईएनजीओमा भाषा अनुवादक थिइन् । दुवै जागिरे हुनु भनेको भविष्य बिलयो हुनु हो । सम्भावित बिलयो भविष्यको आडमा हाम्रो प्रेमले छिटो—छिटो गतिमा बिहेको बाटो समात्यो ।
एक वर्ष प्रेम र अर्को दुइ वर्ष वैवहिक जीवन धुमधामले चल्यो । भोलि के हुन्छ कसलाइ के थाहा ? जीवनको बाटो कहाँनेर पुगेर ओरालो झर्छ, कहाँनेर उकालो चढ्छ, कसलाइ के थाहा ? भोलि सम्बन्धको डोरी कहाँ कसिन्छ, कहाँ फुक्छ कसलाइ के थहा ?
ग्राफीलार्इ प्रत्येक दिन घरको गेटैसम्म ड्रप गरिदिने उनको एक पुरुष साथीमाथि मैले उठाएको प्रश्नबाट सम्बन्धबिच्छेदको बीज सुरु हुन्छ ।
त्यो बीज चना टुसाएझैं टुसाउँछ । टुसा एकपाते दुर्इ पाते भएझैँ त्यो बीजमा पनि पात पलाउँदै जान्छ । पछि वनमारा झारझैँ फैलिन्छ ।
एकदिन ग्राफीले आफ्नो भागको गल्ती स्वीकारेपछि मेरो भागमा ५१% गल्ती पर्छ । जाबो एक प्रतिशतमा मैले बार्गेनिङ गरिनँ ।
मैले मेरो भागमा परेको गल्ती स्वीकारेको दुर्इ दिनपछि हामी अदालत पुग्छौं । केही दिनमा कानुनी प्रक्रिया पूरा हुन्छ । अदालतबाट सम्बन्धबिच्छेदको फैसला सुनेर निस्केपछि हरुवा खेलाडी र जितुवा खेलाडीले हात मिलाएझैं हामीले हात मिलायौं । एक—अर्काको सुखद भविष्यको कामना गर्‍यौं । खाजा सँगै खायौं । स्वतन्त्रताको प्रतीकस्वरुप आआफ्नो बिल तिर्‍यौं र विपरीत ध्रुवतिर लाग्यौं ।
हामीले यसो गर्नु पटक्कै जरुरी थिएन । हामी दुवै पढेलेखेका थियौं । कुरा बुझ्छौं भनेर देखाउनको लागि मात्रै दुवैबाट यस्तो औपचारिक हर्कत भएको हो ।
० ० ०
म एक्लो भएको ठीक एक वर्षपछि घरमा चकचक गर्ने बिरालो आयो । मलार्इ उसको चकचक सुन्दर लाग्छ ।
ऊसँग म रमाउँछु । मसँग ऊ रमाउँछ । असलमा म उसको साथी । ऊ मेरो साथी ।
हामी सँगै सुत्छौं । सँगै खान्छौं । जब ऊ मेरो छातीमा टाँसिएर आफ्नो फोक्सोको घ्यार्रघ्यार्र सुनाउँछ, मलार्इ त्यो आवाज आमाले बच्चालार्इ सुनाउने लोरीजस्तो लाग्छ । त्यही लोरी सुनेर निदाउँछु । ऊ पनि मेरो मुटुको लोरी सुनेर निदाउँछ ।
सम्बन्धबिच्छेदपछि मीठो निद्रा निदाएको यही बिरालोको कारण हो । नत्र एक वर्षसम्म थुप्रै रात ननिदार्इ बिताएको छु । स्लिपिङ ट्याब्लेट अझै सिरानीमुनि छ ।
यो बीचमा खुब मनपर्ने फिल्मका सुन्दर दृश्यहरु जस्ता सुन्दर सपना देखेको छु । जुन सपना देख्ने लोभमा बिरालोलार्इ छातीमा राखेर सम्साझैँ निदाउँछु ।
झन्डै मैले क्यान्डीक्रसका सबै लेभल पार गरेको छु । अहिले बिरालो आएपछि यो गेम नखेलेको कत्ति भो कत्ति ! मेरो घरभित्रको दुनियाँ यही बिरालो हो ।
म उसको चिसो नाकलार्इ बेलाबेला छोइदिन्छु, ऊ रिसाउँछ । मलार्इ उसको रिस मनपर्छ । आफ्ना गाला उसका जुँगाले घोच्छु । ऊ जिस्कन्छ, म्याउँ गर्छ । मेरा आँखामा आँखा जुधाउँछ । मलार्इ ऊ जिस्केको मनपर्छ । अलि अलि रिसाएका उसका नीला आँखा मनपर्छ ।
म जन्मजात भेजिटेरियन हुँ । संयोग- ग्राफी पनि भेजिटेरियन नै थिइन् । मैले आफ्नो हातले मासु कहिलै छोएको थिइनँ । मलार्इ घिनलाग्ने खानेकुरामा मासु हो ।
बिरालो बाघको अविकसित सन्तान । उसलार्इ दूधभन्दा मासु मनपर्छ । मासु किनेर ल्याएँ । आफैँले खानेझैँ गरी पकाएँ । हातमा मासुको चोक्टा समातेर बिरालोलार्इ चिथोर्न लगाएँ । उसले मासु खुब स्वादले खायो । मैले आनन्द लिएँ । अर्काको सन्तुष्टिमा मैले यतिविघ्न आनन्द लिएको यो पहिलो पल्ट हो ।
बिरालोले काँचै मासु मनपराउँछ, मलार्इ थाहा छ । तर, मैले उसलार्इ मासु पकाएरै ख्वाएँ । यो मेरो प्रेमको अफ्नै तरिका हो ।
एक महिनाजति लगातार मासु पकाएर बिरालोलार्इ नियमित ख्वाएँ । त्यसको बास्ना मेरो नाकमा पनि पर्‍यो । जिब्रोले एक दिन चाख्न खोज्यो । मुखमा हालेँ तर बेस्मारी वाकें । बिरालो घिनायो ।
भोलिपल्टदेखि बिरालोलार्इ पनि मासु बन्द । बिरालोलार्इ पनि मजस्तै भेजिटेरियन बनाउँछु भनेर सोचें ।  दूध र घ्यूमात्र खान दिएँ ।
मेरो स्वादहरुको राजा घ्यू । कतै घ्यू खारेको बास्ना मेरो नाकमा पर्‍यो भने घरमा आएर डबल डोज भात खान्छु ।
सम्बन्धबिच्छेद हुनुअघि ग्राफीले मेरो लागि माइतबाट घ्यू कोसेली ल्याउँथिन् । बिहेपूर्व भ्यालेन्टायन डेमा उनले घ्यू उपहार दिएकी थिइन् । मेरो स्वाद थाहा पाउने साथीभाइले जन्मदिनमा घ्यू उपहार दिन्छन् ।
मेरो सबैभन्दा प्यारो स्वाद घ्यूलार्इ बिरालोले पनि मासुजत्तिकै मीठो मानेर खान थाल्यो । घ्यू र भात मुछेर आफ्नै हातमा राखेर ख्वाउन थालें ।
औंलाका कापमा लागेका घ्यू उसको पातलो जिब्रोले चाट्दा मलार्इ अद्भूत आनन्द आयो । त्यो पातलो जिब्रोको स्पर्श यति धैरै प्रेमिल थियो कि मेरो फोक्सोले नियमित स्वास फेर्न छाडेर अलमल गर्न थाल्यो । मेरो मगज उल्टेर बिरालोको जिब्रो र मेरो छालाको घर्षणमा खस्यो ।
प्रत्येक दिन त्यसरी नै बिरालोलार्इ हात चटाउन थालें ।
मैले थप आनन्दको उचाइ खोजें । औंलाका कापबाट माथिमाथि नाडीसम्म घ्यू दलें । उसले घ्यू भएसम्म चाट्यो ।
एकदिन अनुहारमा घ्यु दलें । उत्तानो परेर सुतें । बिरालोलार्इ आफ्नो छातीमा राखें । उसले मेरो अनुहारको घ्यू चाट्न थाल्यो । दाह्री भएको ठाउँमा चाट्न मानेन । निधार, नाक र दाह्री नभएको ठाउँमा चाट्यो ।
मैले औंलाको कापबाट भन्दा नाडी र नाडीबाट भन्दा पनि अनुहार चटाउँदा धेरै आनन्द लिएँ ।
सम्बन्धबिच्छेदपछि एक्लोपनाको पीडा सहनुपर्‍यो तर स्वतन्त्रता महसुस गरेको थें ।
अन्तिम समयसम्म आइपुग्दा हामी यति धेरै चर्किसकेका थियौं कि कार्यालयबाट एक मिनेट ढिलो घर फर्के ढिलो हुनुको निहुँमा झगडा हुन्थ्यो । बोलचाल बन्द हुन्थ्यो । ओछ्यान फरकफरक कोठामा लाग्थ्यो । घर युद्धमैदान जस्तो कठोर हुन्थ्यो । झुक्याएर एकअर्काको मोबाइल फोन चेक हुन्थ्यो । 
सम्बन्धबिच्छेदपछि दाम्लो चुँडालेर भागेको गोरुजस्तो भएँ । जस्तो बाँचे पनि ठीक । मनमौजी ।
ठीक एक वर्षपछि बिरालोको कारण ठीक समयमा घर आउन थालेको छु । जति टाढा भए पनि घर आउनुपर्छ । उसलार्इ खानेकुरो ख्वाउनुपर्छ ।
हुन त ऊ आफैँ पनि बाँच्न सक्छ । खाफ्नो आहारा खोज्न सक्छ । भोक लागे भोकसँग युद्ध गर्न सक्छ । ऊसँग दाँत छन् । खुट्टामा नंग्रा छन् । डरलाग्दो जुँगा छ  । आहारा देख्ने आँखा छ ।
तर मलार्इ लाग्दैन, ऊ आफैँ आहारा खोजेर खान सक्छ । ऊ त मेरो लागि एकदम सानो बच्चा । जस्तो भेटेको थें, त्योभन्दा पनि अझ सानो ।
मैले भेटेपछि ऊ भोको बसेको छैन । जुनसुकै बेला पनि मेरै हातबाट खाएको छ । मैले भेटेपछि एक्लै सुतेको छैन । झन् पछिल्लो पल्ट त उसले आफ्नो जिब्रोले मेरो छालाको स्पर्श नलिर्इ सुतेको छैन ।
म घर फर्किंदा ढोकासम्म ऊ मलार्इ लिन नआएको कुनै दिन छैन । मेरो खुटामा आफ्ना नंग्रा बजारेर नजिस्किएको कुनै दिन छैन । म उसलार्इ एक्लै छाड्न सक्दिनँ । मसँग यति ठूलो हिम्मत छैन ।
मेन्जल र म सँगै बाँचेको ११ महिना भयो ।
यो ११ महिनामा सबैभन्दा धेरै प्रेम यही बिरालोलार्इ गरें । सबैभन्दा धेरै यसैसँग रमाएँ । एक महिनापछि उसको जन्मदिन आउँदै थियो । म उसको जन्मदिन विशेष बनाउन चाहन्थें ।
मैले उसको फोटोसहितको टीसर्ट प्रिन्ट गरें । फोटोको ठीक मुनि कालो अक्षरमा लेखिएको थियो, 'द मेन्जल !'
त्यसको ठीक मुनि मझौला अक्षरमा लेखिएको थियो, 'लभ इज ब्युटी अफ लाइफ ।'
मेन्जलको जन्मदिनको दिन यो टीसर्ट अनाथालयमा बाँड्न चाहन्थें । मेन्जललार्इ मैले भेटेको ११ महिना एकाघर दिनको दिन ३६५ वटा टीसर्ट प्रिन्ट गरेर घर लिई आएँ । तर, त्यस दिन घरको गेटसम्म मलार्इ लिन मेन्जल आएन । मसँग जिस्कन आएन । मेरो खुट्टा समातेर उफ्रिन आएन ।
बोलाएँ, ठूलो ठूलो स्वरले बोलाएँ । तर आएन ।
कोठामा पसें । एक छिनपछि अरु दिनभन्दा स्लो मोसनमा कोठामा पस्यो । मलार्इ देखेर पनि कुनै प्रतिक्रिया जनाएन ।  हातमा उठाएँ । उसको अनुहार मेरो गालामा जोडें । औंलाले चिसो नाक चलाएँ, रिसायो । जुँगा तानें, हकारें, "कहाँ गाथिस् ? किन घरमा बसिनस् ?"
सम्बन्धबिच्छेद हुनुअघि ग्राफी र मबीच यस्ता प्रश्न दैनिकजसो हुन्थे । मेरा कानले यस्ता प्रश्न नसुनेको, मेरो जिब्रोमा यस्ता प्रश्न नपरेको १ वर्ष ११ महिना भएको थियो । आज अचानक मेरो जिब्रोले यो प्रश्न उच्चारण गर्‍यो । जिब्रो नै कस्तो धारिलो भए जस्तो लाग्यो ।
विचरा बिरालोलार्इ यो प्रश्न के काम ?
दोस्रो दिन पनि म घर आउँदा मेन्जल थिएन । म एकदमै आत्तिएँ । त्यस दिन ऊ आएन । मैले भात खाइनँ । राम्रोसँग निदाइनँ ।
भोलिपल्ट साँझ एउटा ढाडे बिरालोसँग घरभन्दा बाहिर देखा पर्‍यो । मलार्इ रिंगटा लाग्यो ।
आँखामा घरि बादल लाग्ने, घरि चट्याङ परेजस्तो झिल्का उठ्ने भयो । ग्राफीलार्इ घरको गेटसम्म गाडीमा ड्रप गरिदिने उनको पुरूष साथी देख्दा मलार्इ यस्तै हुन्थ्यो ।
सरासर बिरालो भएतिर गएँ । हातमा एउटा लामो रड लिएँ । रिसलार्इ नियन्त्रणमा लिएँ । पैतालाको चाल मारें । बिस्तारै बिरालो भए ठाउँमा पुगें । ढाडे पनि घरपालुवा रहेछ । नजिकै पुग्दा समेत भागेन, कुनै अनौठो मानेन । मेन्जलले पुलुक्क हेर्‍यो मलाई तर मतिर आउन मानेन । ढाडे भएतिरै फर्कियो ।
मैले आफ्नो बल रडमा जम्मा गरें । ढाडे बिरालोको टाउकोमै लाग्ने गरी हानें तर टाउकोमा  लागेन, ढाडमा लाग्यो । फनफनी जमिनमा घुम्यो । फेरि एकपल्ट टाउकोमा हानेँ । सेतो ढाडे पूरै रगतमा डुब्यो । एकछिन छटपटायो अनि शान्त भयो ।
मैले मेन्जलतिर आँखा पुर्‍याएँ । ऊ पछाडि नफर्की भाग्यो । फेरि फर्केर कहिल्यै घर आएन ।

Popular posts from this blog

'सायन' नामको कथा

‘भोलि’ नभएकाहरूको बोली

परदेशको किताब