परदेशको किताब



 म बस्नुभन्दा पहिले त्यो कोठामा कोही बास्दो रहेछ । कोठा फोहोर थियो । टेबलमा १४ वटा किताब थिए । 
जसरी उसले टेबलमा १४ वटा किताब छाडेर हिँडेको थियो, उसैगरी थोत्रा कपडा पनि छाडेको थियो । भुइँमा थोत्रा पेन्टी र गन्जी थिए । कोठामा पुरुष बसेको हुनुपर्छ भन्ने अनुमान गरें । अनुमान पछि ठीक हुन पुग्यो ।

मालाई थोत्रा कपडासँग घीन लाग्यो । किताब छोएँ । पन्ना पल्टाएँ । कहिल्यै नदेखेको लिपि देखें । कोठाको चालचुल सुनेर एकजना नयाँ मान्छे आयो । नाम सोध्नुअघि मेरो देश सोध्यो, “कुन देशबाट हो ?”

“नेपालबाट हो,” मैले उत्तर दिएँ ।

उसको बोलीबाट थाहा भयो, ऊ कोरियन हैन । मैले पनि उसको देश सोधें । ऊ कम्बोडियन रहेछ । त्यसपछि हामीले एक–अर्काको नाम थाहा पायौं । उसको नाम च्यान्थोन रहेछ ।

मैले सोधिनँ, उसैले भन्यो, “योभन्दा अघि यहाँ श्रीलंकाको मान्छे बस्थ्यो । कोठा सफा नगरी हिँडेछ है !”

कोठा सफा गरें । घीन मानी–मानी गन्जी र पेन्टी उठाएँ । भुइँ बढारें । च्यान्थोनले मलाई सहयोग ग¥यो । फोहोर फाल्ने ठाउँ देखायो, “यहाँ राख । अहिले एकछिनमा डढाउनुपर्छ । प्लास्टिकजन्य फोहोरचाहिँ नडडाऊ ।”

१४ वटा किताब र थोत्रा कपडामा एकैपल्ट आगो लगाएँ । अक्षर बल्यो । धूवाँ आकाशमा उड्यो । गन्ध आकाशमा फैलियो । नाकभित्र पस्यो । किताब खरानी भयो । मेरो कोठा सफा देखियो ।

लगेज खोलें । दराजमा कपडा पट्याएर राखें । टेबलमा जसरी श्रीलंकन मान्छेले किताब राखेको थियो, उसैगरी आफूले पढ्न भनी बोकेका किताबहरू राखें । मेरो किताबले टेबलमा सोभा दियो । त्यहाँ मेरो भाषाका अक्षरहरू थिए, जसले सास फेर्थे ।

श्रीलंकन मान्छेले भित्तामा परिवारको फोटो टाँसेको रहेछ । साना दुई नानी र एक जोडी बूढाबूढी । सबै फालें तर परिवारको फोटो फालिनँ । किन फालिनँ ? यसको स्पष्ट उत्तर छैन ।

किन उसले किताब, थोत्रा कपडासँगै परिवारको फोटो पनि परदेशमा छाडिगयो ? यसका अनेक अनुमानित उत्तरहरू छन् । जस्तैः अब फोटो हैन, साक्षत परिवारसँग भेट हुँदैछ । किन चाहियो फोटो ?

म कोठामा बस्न थालें । काम गर्न थालें । किताब पढ्न थालें । दुःख र खुशीहरू आउँदै जाँदै गरे ।

कति वर्ष कोरिया बस्नु छ, थाहा थिएन । कति भएपछि पैसाले पुग्छ, थाहा थिएन । कहिले परदेश वाक्क हुन्छ, थाहा थिएन । कहिले स्वाभिमानको ख्याल हुन्छ, थाहा थिएन । कहिले मभित्र बल र बुद्धि छ भन्ने भेउ हुन्छ, थाहा थिएन । कहिलेदेखि देशमै केही गर्न सक्छु भन्ने पत्तो पाउँछु, थाहा थिएन । यसकारण नेपालबाट कोरिया आउने साथीहरूसँग थप किताब मगाउँदै रहें । कोरिया छाड्ने बेलासम्म किताब सयभन्दा धेरै भए ।

यता नेपालमा नाम चलेका लेखकको किताब विमोचन हुन्थ्यो, उता कोरियामा मलाई हुटहुटी चल्थ्यो । मिल्ने साथीहरूका साथी कोरिया जान्थे । उनीहरू सोध्थे, “मेरो साथी कोरिया आउँदै छ, तँलाई के पठाइदिऊँ ? किताब कि सुकुटी ?”

“किताब !”

सबै किताब पूरै पढिनँ । साथीहरूलाई उपहार दिन पनि लोभ गरें । सुन्दर कुरा उपहार दिन लोभ गर्ने मेरो स्वभाव रहेछ । आफ्नो स्वभाव चाल पाएँ ।

कोरियामा काम गर्न थालेको तीन वर्ष हुँदै थियो । जुलाई महिना गर्मी उकालो लाग्दो थियो । हाम्रो देशको तराईको गर्मी र कोरियामा हुने गर्मी ठीक जुम्ल्याहाजस्ता हुन् । साँझ काम सकिएपछि कतै चिसो बतास भेटिन्छ कि भनेर नजिकैको गाउँघर डुल्थें । नेपालका चौताराजस्ता चौतारा कोरियामा पनि छन् । ती चौतारामा बस्ने सबै अनुहार बूढाबूढीका हुन् । तन्नेरीहरू गाउँ बस्दैनन्, सहरतिर बस्छन् । कोरियाली गाउँको विम्ब ठ्याक्कै नेपाली गाउँको जस्तै छ ।

कोरियन बूढाबूढीले मेरो देश र नाम सोधेपछि कुरा अगाडि बढाउँथे । त्यहाँका बूढाबूढी एकदम प्रेमिल र हँसिला । खाल्चन गाउँमा भेटिएकी एक ७५ वर्षीय बूढीआमैले मलाई हलुवाबेदको सुकुटी दिँदै भनिन्, “मेरो कान्छो छोरो पनि तिम्रै उमेरको हो । सहरतिर बस्छ । कहिलेकाँही घर आउँछ । दुई वर्ष भयो, उसको बिदा भएको छैन क्यार ! घर आएको छैन ।”

कोरियामा एकीकृत गाउँ छन्, जहाँ बूढाबूढीहरू मृत्यु रुँगेर बसिरहेजस्ता देखिन्छन् । प्रत्येक गाउँमा सरकारी घर छन् । त्यहाँ बूढाबूढी भेला हुन्छन् । रमाइलो गर्छन् । बिरामी भए भने अस्पताल जान्छन् । सबै जिम्मा अस्पतालले नै लिन्छ । मृत्यु भयो भने छोराछोरीलाई अस्पतालले फोन गर्छ ।

छोराछोरीहरू बा–आमाको मृत शरीर जिम्मा लिने मानिसमात्र हुन् जस्तो लाग्छ ।

ती बूढी मान्छेले आफ्नो छोराको बारेमा बताएपछि मैले आमा सम्झें । मेरा बा–आमाको घर लोकल हटियाछेउको बाटैमा पर्छ । बाटोछेउमा धारो छ । मेरै उमेरको कुनै प्यासी हटेरूलाई आमाले भन्नुहोला, “तिमी त मेरो कान्छो छोराजस्तै रहेछौ बाबु । छोराहरू सहरतिर बस्छन् । परदेश बस्छन् । फुर्सद हुँदैन । चाडबाडमा मात्रै घर आउँछन् । पखेटा पलाएको चराको पछि लागेर के साध्धे बाबु ! कहाँ जान्छन् कहाँ ।” आमाले पक्कै भन्नुहुन्छ ।

अहिले बा–आमालाई सहारा चाहिने समय हो । प्रत्यक्ष सहारा नपाए मान्छेले ‘सहारा वा सपना’ कल्पिन्छ । आमाले मेरो हात कल्पिनुहोला । सहारा कल्पिनुहोला ।

मैले यस्तो सोचेकोे केही समयपछि कोरिया छाड्ने निर्णय गरें । कोरिया छाडें ।

कोेरिया छाड्ने बेला साथीहरूलाई सोधें, “तिमारूलाई किताब चाहिन्छ ?”

उनीहरूले पढ्न बाँकी रहेको र रुचि भएको किताब चाहिन्छ भने । पठाएँ ।

बाँकी किताब टेबलमा मिलाएर राखें, जुन टेबलमा श्रीलंकन लेखकका किताबहरू भेटेको थिएँ । 
जम्मा भएका सबै किताब बोकेर ल्याउन नसिकने रहेछ ।

हामी मजदुर हौं । सस्तो हवाइजहाजको टिकटमा यात्रा हुन्छ । लगेजमा थोरै सामान अट्छ । घर फर्की आउँदा आफन्तको उपहार हुन्छ । साथीभाइलाई चिनो हुन्छ । पढिसकेको किताब प्रिय त हुन्छ तर प्राथमिकतामा कुनै हालतमा पर्दैन ।

मलाई थाहा छ— अब त्यो कोठामा कुनै देशको नयाँ मान्छे आउनेछ । कोठा सफा गर्नेछ । नेपाली भाषाका किताब जलाउनेछ । किताब पढ्ने मानिस रहेछ भने उसले अफ्नो भाषाका किताब राख्नेछ नत्र कुनै सामान राखेर टेबल भर्नेछ ।

मन तीतो भयो ।

कसरी जल्ला बुद्धिसागरको ‘कर्नाली ब्लुज’, जसलाई मैलै अक्षरमा मात्र हैन, अडियोमा पनि पचासपल्ट सुनेको छु । सुन्दै सागबारीमा १८ घण्टा साग टिपेको छु । काँक्रा टिपेको छु । फर्सी टिपेको छु । पात्रहरू प्रिय साथी भएका थिए । ती प्रिय साथी पात्रहरू कसरी आगो होलान्, कसरी खरानी होलान् ! कसरी जल्ला ‘लू’को इलैया ! कसरी जल्ला ‘पानीको घाम’ ! म हुरुक्कै भएँ ।

कसरी जल्लान् ‘लक्ष्मी निबन्ध संग्रह’का अक्षरहरू ! ए महाकवि देवकोटा ! तिम्रो ‘के नेपाल सानो छ ?’ तिम्रै ‘मुनामदन’को मदनजस्तो पाठकले परदेशमा जलाइदिन्छ ।

म हुरुक्क हुन्छु । हुरुक्क । २५ वटा किताब छाडेर आएँ— कुमार नगरकोटीको ‘मिस्टिका’देखि शंकर लामिछानेको ‘अब्स्ट्र्याक्ट चिन्तन प्याज’ सम्म । भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ देखि मनु मञ्जिलको ‘ल्याम्पपोस्टबाट खसेको जून’ सम्म ।

हिँड्ने बेला नवीन प्राचनीको कविता संग्रह ‘उभिएर एक्लै’ चाहिँ कुनै हालतमा छाड्न सकिनँ र लगेजमा जबजस्र्ती कोचें ।

हातमा ‘अविराम बाबुराम’ बोकें । यो किताब पनि होस्टेलकै कोठामा छुट्ने थियो तर पढिसकेको थिइनँ । बस र ट्रेनको यात्रामा पढ्छु भनेर हातमा बोकी हिँडेंँ । पढिसकें ।

जसरी नेपाली राजनीतिमा बाबुराम छाडिँदै गहिरहेका छन्, उसैगरी ‘अविराम बाबुराम’ मेट्रो ट्रेनको सिटमा जानाजान छाडिदिएँ । हलुका भएर बाहिर निस्किएँ । अब मसँग हातमा किताब छैन, क्यामेरा छ । मेट्रो स्टेसनबाट बाहिर निस्केर फोटो खिच्दै थिएँ, हस्याङफस्याङ गर्दै एकजना कोरियन सुन्दरी आइपुगी र भनी, “तिम्रो किताब छुटेछ !”

मुसुक्क हाँसें । धन्यवाद दिएँ । किताब लिएँ ।

मनमा लाग्यो— यी सुन्दरी साह्रै भाग्यमानी हुन्, जसले आफ्नो भाषाका प्रिय लेखकका किताब परदेशमा फाल्नु पर्दैन, जसले जानाजान मेट्रोको सिटमा बिर्सिएर हिँड्नु पर्दैन, किताब आगोमा पर्दा पात्रहरूलाई पोल्यो कि भनेर आत्तिनु पर्दैन । देश समृद्ध छ । हामीले जस्तो ती सुन्दरीले आफ्ना प्रिय लेखकका किताब बोकेर मजदुरी गर्न परदेश जानु पर्दैन ।


@rashayans

Comments

Popular posts from this blog

'सायन' नामको कथा

‘भोलि’ नभएकाहरूको बोली