'सायन' नामको कथा

पत्रिकामा कविता छापिनु अघि मेरो अन्तर्वाता छापियो ।

त्यस दिन झ्यालकाे पर्दा उठाएँ । दैलो खुल्ला राखें । चिनेका काेही आइहाल्छन् कि ! भनेर निकै आस गरें । तर कोठा ओरपर काेही आएनन् । दिनभर हातमा पत्रिका बाेकेर यताउता गरिरहें ।  
छिमेकी डेरावाल थिएनन् ।घरबेटीले माथील्लो तलाकाे दैलो खोलेनन् । अन्तरवर्ता कसैलाइ देखाउँन पाइन् ।

 तर पचास पल्ट भन्दा धेरै आफैंले पढें । कयाैं पल्ट एैना हेरें । वाथरूममा गर्ने एक नियमित कर्म हापें र 'ब्रह्मचारी ' स्नान मात्र गरें । त्यस दिन अबेर भात पाकाएँ तर दाल पकाइनँ । मनै नपनर्ने स्कुसको तिउनमा झोल हालें ।

स्वाद कस्तो भयो  ? 

थाहापाइनँ । 

मेरो फुर्ती यस्तो थियो कि जस्तै रोग, भोग र सोकलाइ समेत झिनो मान्न सक्थ्यो । मान्छे खुसी हुँदा इन्द्रय  बाेधा हुँदा रहेछन् । उग्र खुसी निकै अजाती हुँदो रहेछ । स्कुसको चानामा झोल हालेर समेत भात खान सकें । जुन सामान्य अवस्थामा कल्पना बाहिरको नमिठो स्वाद हो । 

भाेलिपल्ट सखारै पत्रिका च्यापेर काम गर्ने ठाउँ पुगें । त्यसबेलासम्म अफिस ब्वाइ पुगेकाे थिएन । निकै बेर पछि उ आयाे । उसलाइ सटर उठाउँन सगाएँ । उ भन्दा, म एक पाेष्ट माथीकाे हुँ । मैले टेवल पुच्छनु पर्दैन थियाे तर त्यस दिन टेवल पुच्छे । उसले भूँइ पुछ्याे । छिटो काम सकियो । उलाइ मेरो अन्तर्वाता पढ्न दिएँ । मैले अंग्रेजी पढे जस्तो उसले अड्किअड्कि मेरो अन्तर्वाता पढ्यो । अन्तिम प्रश्न तिर पुग्नै लाग्दा म्यानेजर अाइपुग्यो । पत्रिका फ्यात्त भुँइमा फाल्यो । हतार हतार हात जाेड्याे । सधैं झै,अफिस ब्वाइलाइ म्यानेजरले नमस्कार फर्काएन।

म्यानेजर क्याविनमा छिर्न खाेज्दै थियो, मैले नमस्कार गर्दै भनें 'सर पत्रिकामा मेरो अनतर्वाता छापिएको छ ।' एकाएक यत्राे हिम्मत कहाँबाट आयो ? सायद मान्छे प्रसश्त खुसी हुँदा हिम्मतको गति बतासको बेगमा बढ्छ क्यार ! बाहिर बतास छिटोछिटो चल्दै थियो ।
उनले मेरो नमस्कार फर्काएनन् । केही बाेलेनन् । मेरो खुसीको लप्काले उनको अनुहार छुन सकेन । तर उनको देब्रे हातले मेरो दयाँ हातको पत्रिका तान्याे ।

पत्रिका बाेकेर उनी क्याविन छिरे । म पनि उनको क्याविन छिरें । हाकिम क्याविनमा विना अनुमती  पहिलो पल्ट छिरेको थिएँ । खुसीले मान्छेलाइ अनुमती कुर्न नदिँदो रहेछ ।  उनी घुम्ने कुर्सीमा थ्याच्च बसें । एक फन्काे सर्रर घुमे । पत्रिका पल्टाए । अन्तिम पाताेमा पुगेपछि मेरो मुखमा पुलुक्क हेरे ।
'सर यहाँ छ मेराे अन्तर्वाता !' एउटा कोलम देखाएँ ।
उनले फुत्त पत्रिका फाल्दै भने -'कति हुन्छन् हुन्छन् रमेश पोख्रेल । यो तिमी नै हाै भनेर कसरी थाहा पाउँने ? त्यस माथी तिमी को हाै  र ! पत्रिकामा इन्टरभ्यु छापिन्छ ?  ख्यै फोटो ?'
बिजुलीको चिम फ्याट्ट फुटेर कोठा झ्याप्प अध्यारो भए जस्तो मेरो अनुहार  निभ्यो । 
'बाहिर गएर आफ्नो काम गर ।' हाकिमले आदेश दियाे । 


👇

हाक्किमलाइ भन्न सकिनँ -'कुनै प्रमाण छैन तर त्यो मान्छे मै हुँ ।' तर म तँपाइलाइ भन्न सक्छु 'कुनै प्रमाण छैन तर त्यो मान्छे मै हुँ ।' जसको पत्रिकामा कविता छापिनु अघि अन्तरवर्ता छापियो । तपाइ मेरो हाक्किम जस्तो डरलाग्दो हुनुहुन्न । तपाइसँग म दोहाेरो बात गर्न सक्छु । र, निकै बेरसम्म आफ्ना कुरा भन्न सक्छु । 

विराटनगरमा दशर्न दैनिक भन्ने पत्रिका निस्कन्थ्यो । (अहिले के छ ? थाहा छैन । ) शनिबारकाे अंकमा नव प्रतिभा ( यस्तै केही ) भन्ने स्तम्भ थियो । जहाँ प्रतिभाको नाममा भर्खरै अन्डा बन्न थालेका कलिला केटाकेटीको अन्तर्वाता छापिन्थ्यो । जसले आफ्नो रूची भर्खरै पत्ता लगाएका हुन्थे । संघर्षको पूर्वसन्ध्यामा उभिएका हुन्थे । 

 म कविता लेख्थें । साथीभाइको बीचममा सुनाउँथें । साथीहरू मलाइ कवि भन्थे । यसै बीच मेरो कविता सुन्ने एक हुल साथीहरू पत्रकार भए । उनीहरू दर्शन दैनिकमा पत्रकारिता अभ्यास गर्थे । एक दिन त्यस स्तम्भको लागि प्रतिभा खोज्दै रहिछन् । पत्रकार राम खरेलले मलाइ च्यप्प समाते । उनी मेरा गाउँले हुन् । म कविता लेख्छु भन्ने उनलाइ थाहा थियो । अर्का मित्र पत्रकार माेहन भट्टराइलाइ राम खरेलले भने -'लु रमेशकाे अन्तर्वाता छाप्नु पर्याे । यो खतरा कवि हो । जनअान्दोलनमा पनि कविता सुनाएको छ । राजाबाट सासन फिर्ता ल्याउँन यसको कविताको पनि योगदान छ ।'उनले सोडा हाने । म फुलिएँ । मोहनले पत्याए । 

त्यस पछि मेरो अन्तरवार्ता शुरू भयाे । जीवनमै पहिलो पल्ट छापा अक्षरमा छापिदै थिएँ । त्यसको फुर्तिफार्ती सम्झिदा समेत अहिले हुरूक्क हुन्छु । आफुलाई कत्रो ठूलो ठानें । अन्तर्वता सकिए पछि जलजला हल नेर रहेको मम हाउसमा तीन प्लेट भैंसीको मम खाएँ । अादी किलो कुखुराको मासु किनें । डेरा फर्किएँ ।एउटा टाइगर वियर किनें ।  एक्लै पिएँ । आफैले आफैंलाई पार्टी दिएँ ।   

प्रश्न के के थियो ? सबै याद छैन । तर 'कविता भनेकाे के हो ? 'भनेर सोधेको याद छ । 
त्यो कलिलो केटोलाइ कस्तो भब्य प्रश्न  ! के उत्तर दिनु ? त्यसबेला मेरो कुनै निजी बिचार थिएन । ( अहिले पनि छैन । तर अनुभबलाइ सकेसम्म गहिरो अनुभुत गर्न खोज्छु ।) बुद्धि त झनै थिएन । (अहिले पनि छैन ।) कुनै कुरामा तर्क गर्न सक्दिनँ थिएँ  ।( अहिले पनि सक्दिनँ ) चार जना मानिसको अघि बोल्नु पर्दा खुट्टाले जिउ थेग्न सक्दैन थियो । 
नजान्नेको प्रश्नको उत्तर नदिदाँ पनि हुन्छ भन्ने ज्ञान जीरोमाइलमा स्थिर थियो । 
मैले उत्तर दिएँ 'कविता भनेको फुलको थुंगाले हिर्काउँदाको स्पर्ष हो । आँखामा पट्टि बाँदेर हिँड्दा पैतला जहाँ जहाँ पुग्छ र जुन जुन ठाउँ महसुस गर्न सक्छ त्यो महसुस कविता हो । त्यो स्पर्ष कविता हो' यो भनाइ मेरो थिएन । बरिष्ठ कवि कृष्णभुषण बलको थियो । जुन मैले कपि पेष्ट हानेको हुँ । तर पत्रकार साथीहरूलाइ उत्तर भब्य भयो । 
उनीहरूले  भने 'क्या गजब'  । 
 साथीहरूसँग क्यामेरा थिएनन । मेरो फोटो खिच्न सकेनन् । मसँग फोटो मागेका थिए । फोटो खिचेर दिन सकिनँ । फोटाे बिनै मेरो अन्तरवार्ता छापियो । जुन म्यनेजरले पत्याएन । 

👇

म अटोमाेबाइस कम्पनीका काम गर्थें । भरखरै घटुवा भएको थियो । जुन  #छुटेका_अनुहार मा लेखेको छु ।  घटुवा भए पनि लाज पचाएर जागिर खान सक्ने थेत्तरो पना मसँग  थियो । घटुवा भएका लाइ सबैले हेप्छन् । (तँपइले पनि हेप्नु हुन्छ । मनमनै अाफैंसँग सत्य बोल्नुस् । तर तपाइसँग हेप्न हुँदैन भन्ने चेतना सकृय भयाे भने त्यसले केही हदसम्म काम गर्ला तर अबचेतना कति खेर ब्युतिन्छ पत्तो हुन्न )  त्यस माथी म्यानेजरको कुरा नगराैं । उ मलाइ मान्छे गन्दैन थियो । तर जनाबर हो भनेर  स्वीकार्न पनि सक्दैन थियो । म खुट्टाले हिँड्थें र हातले भात खान्थें । जुन उसले देखेको थियो । उ मलाइ ठोकुवा दिन्थ्यो - तेरो बुद्धि छैन । तँ मुर्खछस् । अचेल एकान्तमा सोच्छु - म्यानेजरले ठिकै भन्यो कि क्या हो !  । तर उसको त्यो धारणा मेरा नाजिकका संगतियले स्वीकार्दैनन् । यसकारण उसको धारणा अन्तिम सत्य हैन जस्तो पनि लाग्छ। 

मैले ठानें, पत्रिकामा मेरो अन्तरवार्ता पढेपछी म्यानेजरले कम हेप्ला । मान्छे ठान्ला। घटुवा हुँदा गुमेको इज्जत थोरै भए पनि फिर्ता होला । साथीभाइले पनि पत्याउँलान्  । यसकारण म्यानेजरलाइ ठाडै खुट्टा अन्तर्वाता देखाएको थिएँ ।  तर, उसले पत्याएन। फालिदियो । झन ठूलो अपमान भयो ।  अरू स्टापहरू सामु उडायो -  यसको नाम गरेको मान्छेको अन्तर्वाता छापिएछ । यसले मेरो हो भन्दै मलाइ बिहानै बिहनै डाँट्यो ।' 
त्यस पिछ अफिस ब्वाइले समेत मालइ हेप्न थाल्यो । 'तँ टेवल पुछ म भुँइ पुच्छु !' भन्न थाल्यो । 
 घटुवा हुँदा जुन दुख्ख लागेको थियो त्यो भन्दा कयाैं गुना धेरै दुख्ख मेरो अन्तर्वाता छापिएको पत्रिका म्यानेजरले फाल्दा लाग्यो । 
बेकार देखाएँछु भन्दै निकै दिन पछुताएँ । 
👇

कोठामा एउटा सानाे नेपाली शब्दकोश थियो । त्यसमा मेरो भन्जाले सायन शब्द भेटेछ। जसको अर्थ थियो 'दिन र रात बराबर हुने दिन, २२ मार्च र २२ डिसम्बर । भान्जाले खोजेर ठिक्क परेको सानय शब्द रमेशको पछि लाग्यो र रमेश सायन बन्यो । 

त्यस पछि, म्यनेजरले खोजे पनि कहिलै नभेटिने नाम बनें । 

अन्तरवार्ता छापिएको पत्रिकामा पछिपछि कविताहरू पनि छापियो न म्यानेजरले कहिल्यै मलाइ चिन्यो न मैले चिनाएँ । न अाफुलाइ प्रमाणित गर्नु पर्यो न अपमान महसुस गर्नु पर्यो । बरू सहकर्मी र हाकिमसँग नचिनिदा नयाँ सुख महसुस गरें । 

मैले नयाँ नयाँ ठाउँमा काम गरें । कपडा फेरे झै थुप्रै मालिक फेरें । थुप्रै मान्छे मेरा हाकिम भए । कयाैं साथीहरू सहकर्मी भए तर कसैले कहिल्यै थाहापाएनन् - म कविता लेख्छु । पत्रिकामा अार्टिकल लेख्छु । ब्लग लेख्छु भनेर ।

मेरो लेख छापिएको पत्रिका अफिसमा अाएको बेला कहिल्यै बताउँन सकिनँ त्यो मैले लेखेको हुँ भनेर । मेरो सात्तो म्यानेजरले उडाइ सकेको थियो । दाेस्रो पल्ट कहिल्यै हिम्मत गरिनँ । 

२०१३ मा साताको साहित्यले मेरो एउटा कवितालाइ पुरस्कार दियो । पुरस्कार पाएको भोलिपल्ट पत्रिकामा फोटो छापियो । एक जना सहकर्मीले पत्रिका देखाउँदै भने -'आरे तँ जस्तै मान्छे छ रे  हुबहु अनुहार मिल्छ यार  ।' 

हातमा पत्रिका बोकेर उनले सबैलाइ देखाउँदै हिँडे तर कसैले मै हुँ भनेर भन्न सकेनन् । 

मैले फिस्स हाँस्दै भनें -'वृथ्वीमा एक जना मान्छेको अनुहार सात जनासँग मिल्छ भन्छन् । एक जना नेपालमै रहिछ ।'

उनीहरूले खुब रमाइलो मनें । खोजेर मित लाउँने सल्लाहा दिए । 

काेरियामा चाैविस महिना सँगै बसे पछि एक जना भइले भने -'दाइको साहित्य तिर रूचि छ कि क्या हो ।' 
पढ्दै गरेको अमर न्याैपानेको करडाैं कस्तुरी चुपचाप बन्द गरें ।  सिरानेमा राखें । उनीसँग बियर पिउँन थालें ।  
रमरम हुन थाले पछि फेरी सोधे -'दाइको साहित्यमा रूची छ ?' 
'अलि अलि किताब पढ्छु ।' 
उनले भने -'मलाइ गजल खुब मनपर्छ । अरू त सुन्दिनँ पढ्दिनँ ।' 

कोरियाबाट फर्किएपछि क्याफे खाेलें । त्यो क्याफे डुब्यो । त्यस पछि थुप्रै पल्ट महंगा सपिंग महलहरूमा गएर प्राइज ट्याग पढेर फर्किएको छु । मलाइ लाग्यो -'अब यि मुल्यका सामान कहिल्यै किन्न सक्दिनँ । टाडाको यात्रामा जान सक्दिनँ ।' 

फेरी कसैसँग काम माग्ने दिन शुरू भए । म यसरी अात्तिएको रहेंछु कि मैले बायोडाटामा साह्रा कुरा लेखें । कहाँ कति वर्ष काम गरें । सम्मान पुरस्कार कति पाएँ । 
यति सम्म लेखेंकी गुगल सर्च कि ः रमेश सायन (Ramesh sayan ) समेत लेखेर दिएँ । जसले मेरो बायोडाटा पढ्छ । त्यसले जागिर नदिए पनि एकपटक मलाइ भेट्न अवश्य बोलाउँछ भन्ने मान्यतामा बायाेटाडा इमेल गरें। 

जागिर दिने कम्पनीले जागिर दियो । मैले मागेको भन्दा अझ थपेर दाम दियो । तर म किताब लेख्छु । कविता लेख्छु भन्ने गोपनियता भंग भयाे । 
अहिले सहकर्मी भन्छन् -'कवि जी एउटा कविता जाहोस् न त । ' यसले मलाइ यति ठूलो हैरानी दिन्छ कि जुन भनि साध्य छैन । कति हलुका भयाे लेखक । कति हलुका भयो कवि । जुन जहाँ सुकै उड्न सक्छ । र जसले पनि उडाउन सक्छ । 

हामीलाइ लाग्छ ( भ्रम )  किताब थिएन भने संसार अध्यारो हुन्छ। तर मेरा सहकर्मी कसैले अाफ्नो अाैपचारिक कोर्सका किताब बाहेक कुनै एक किताब पनि पढेका छैनन् । उनीहरूको लागि कवि लेखक भनेको सामान्य हासि मजाक गर्ने मानिस हो । कसैकसैलाइ त लाग्छ कवि लेखक भनेको जोकको नायक हो । यो यस्तो खिच्चा हुन्छ कि जहाँ पनि उभिएर कविता पढ्न थालि हाल्छ । 

यो ब्लग तीनै म्यनेजरलाइ समर्पित । जसले मलाइ सायन नाम राख्न प्रेरित गरे । 

प्रिय शर्मा सर ।

तपाइलाइ पन्द्र वर्ष पछि 'प्रिय' शब्द प्रयोग गर्दै छु । जसले पोख्रेल थरलाइ सायन नाम बनाइ दियो । एकै पटक मात्र तँपाइबाट अपमान हुन पर्यो । बाँकी सबै समय सामान्य मान्छे जस्तै सामान्य हुनसकें । तर पन्द्र वर्ष पछि आफुले  आफैँलाई दुर्घट्नामा पारें । फेरी झन्डैझन्डै तपाइले गर्नु भएको अपमानकै हाराहारीको अपमान महसूस गर्छु  -'कविजी एउटा कविता जाहाेस न त ।' 






x

Popular posts from this blog

‘भोलि’ नभएकाहरूको बोली

परदेशको किताब