साधारण कोरियन आँखामा नेपाल

साधारण कोरियनले बुझेको नेपाल अनौठो छ। कोरियामा मजदुरी गर्छु। यसकारण मेरो संगत साधारण कोरियनसँग हुन्छ जो स–साना पसलका मालिक हुन्छन्। जो साना होटलमा खानेकुरा बेच्छन्, जो हटियामा साग बेच्छन्। जो खेतबारीमा काम गर्छन्, ट्याक्सी चलाउँछन्। जो कामबाट दिक्क भएपछि पहाडतिर घुम्न निस्कन्छन्।  जसलाई म सजिलै भेट्न सक्छु, दोहोरो सम्बाद गर्न सक्छु। 
‘नेपाल भनेको हिमाल हो,’ उनीहरुको नेपाल बुझाई यस्तो छ।
नेपाल कहाँ पर्छ भनेर सोध्यो भने हिमालमा पर्छ भनिदिन्छन्। मानौं हिमाल कुनै देश हो र नेपाल त्यही देशभित्रको कुनै ठाउँ!  
मलाई थुप्रै कोरियनले सोधेका छन्, ‘तिम्रो देशमा चामल पाइन्छ?’
उनीहरुलाई थाहा छ, ‘हिमालमा धान फल्ने हावापानी हुँदैन। मेरो देश हिमालमा पर्छ। म त्यही हिमालको मान्छे हुँ।’ 
‘वर्षको दुई बाली धान फल्ने तराई छ। म तराईको वासिन्दा हुँ। पहाडमा पनि बेस्मारी धान फल्ने हावापानी छ’, मैले मुस्कुराउँदै दिने उत्तर उनीहरुको लागि निकै रोचक हो। 
बितेको हिउँदमा कोरियामा खुब जाडो भयो। हिउँसहितको हुरी चल्यो। सरकारले ‘अलर्ट’ जारी गर्‍यो।
‘सरकारले अलर्ट गरेको चिसो कस्तो हुने रहेछ?’, म मुर्खलाई थाहा पाउन मन लाग्छ।
साँझ परेपछि घरबाट निस्केँ। जाडो त भयंकर! बतास त सियो जस्तो तिखो। टाउकोमा सुइरो रोपेजस्तो भयो। आत्तिँदै टोपी र मोजा बेच्ने सानो पसलमा छिरें। 
मेरो हाउभाउ देखेपछि पसलवालाले मेरो देशको नाम सोध्यो।
मैले भने, ‘नेपाल।’ 
‘हिमाल देशको मान्छेलाई पनि यति धेरै जाडो?’ आँखा ठूला पार्दै चकित भएर उसले सोध्यो।  
उसलाई पनि नेपाल भनेको हिमाल भन्ने लाग्दो रहेछ। 

एक वर्ष पहिले भेट भएको थियो ६५ वर्षीय एक कोरियनसँग। जोसँग केही समय सँगै काम गरें।  जीवनमा एकपल्ट हिमालसम्म पुग्ने उसको सपना थियो।
उसले मलाई हिमालका बारेमा अनेक कुरा सोधेर हैरान पारेको छ। 
‘हिमाल देखेको छु तर हिमालसम्म पुगेको छुइनँ।’ मैले यसो भन्दा! उसले मलाई ‘अभागी’ भन्यो। 
हिमालको कुरा गर्दा उसको अनुहारमा चमक आउँछ। नेपालका प्रायः सबै अग्ला हिमालका बारेमा उसलाई थाहा छ। सन् २००० मा धौलागिरीमा उसको साथीको मृत्यु भएको रहेछ। साथीको मृत्युपछि उसलाई हिमालप्रति चासो बढेको हो। हिमालका कुरा थाहा पाउनकै लागि उसले अंग्रजी सिक्न थालेको बतायो।  
ऊ नेपाल कहिले जान्छ! तर उसले मेरो भर्चुअल ठेगाना लिएको छ। 
नेपालमा हाम्रो भेट भयो भने उसलाई तराइ पनि घुमाउनेछु। 
हिमालको बारेमा थाहा पाउने कोरियनले नेपाललाई खुबै माया गर्छन्। नेपालमाथिको दृष्टिकोण निकै उच्च हुन्छ, हिमाल जस्तै!

कोरियाका सुरुवाती दिनहरुमा म नेम्याङ्ग भन्ने सानो उपत्यकामा बसें। त्यहाँ मेरा छिमेकी थिए, नामहेङ्ग नाम गरेका पचास वर्षीय कृषक। 
हिउँदमा निकै चिसो हुन्छ। त्यहाँ खेतीपाती हुँदैन। यसकारण उनी प्रत्येक हिउँदमा घुम्न निस्कन्छन्। 
घुमन्ते भएको हुनाले काम चलाउ अंग्रेजी जान्दछन्। यसकारण मसँग सम्बाद हुन्छ। बोल्न भाषा चाहिन्छ। उनको र मेरो भाषा छ, हामी बोल्छौं। 
उनी आठपल्ट नेपाल पुगिसकेका छन्।
प्रत्येकपल्ट सोलोखुम्बु पुग्छन् र फर्किंदा आलुको बीऊ बोकेर आउँछन् अनि, रोप्छन्। उनले बेच्ने आलुको नाम हो, ‘नेपाल खाम्जा’ (नेपाली आलु)। 
‘किन यसो? नेपालको आलुभन्दा कोरियाकै आलु धेरै फल्छ। हाइब्रिड छ?’, म सोध्छु।
उनी शान्त शैलीमा मुस्कुराउँदै भन्छन्, ‘नेपाल चिनाउन! आलु खाने मान्छेले स्वादसँगै नेपाल पनि खोजोस्, नेपाल जानोस्। बुझोस्।’
 ‘के कारणका लागि नेपाल चिनाउनु हुन्छ?’
‘नेपाल सुन्दर देश हो। साँच्चै सुन्दर! त्यहाँको ढुंगा माटो सुन्दर छ। त्यहाँको प्रकृतिसँग प्रत्येक मान्छेले आफ्नै भाषामा सम्वाद गर्न सक्छ।’
उसले यसो भनिरहँदा म त खुसीले मुस्कुराउँदै रहेछु। यसै–यसै मेरा आँखा चहकिला बने।  
कोरिया भर्खर आएको थिएँ। लाग्थ्यो, नेपाललाई सबै कोरियनले जान्दछन्। झन्डै चालिस हजार नेपाली बसोबास गर्ने देश हो कोरिया। यहाँको माटोमा नेपालीको पसिना छ, रगत छ। आँसु, दुःख र खुसी छ। चालिस हजार नेपालीको सपना छ, जीवन छ। किन चिन्दैनन् कोरियनले नेपाल? 
पाँच करोड जनसंख्या भएको देशमा चालिस हजार टाउका त बालुवामा हराएको सियो जसरी हराउँदा रहेछन्।
हामी त कतै कृषि फर्ममा, कतै कारखाना, कतै नाइट क्लब, कतै रक्सी बार वा यस्तै कुनै अड्डातिर हराउँदा रहेछौं। 
नामहेङलाई प्रश्न सोधें, ‘यो त खुम्बुको आलु हो। खुम्बु खाम्जा नभनेर किन नेपाल खाम्जा भन्नु भएको?’
यो प्रश्न अलिक मुर्ख टाइपको रहेछ! पछि–पछि थाहा पाउँदै गएँ। प्रश्न सोधेकोमा लजाउँदै गएँ। 
कोरियनको लागि खुम्बु भनेको त कहाँ हो कहाँ! नेपाल भनेको पनि धेरै कोरियनलाई थाहा छैन। कतिले त नेपाल अफ्रिकामा पर्छ भन्ठान्छन्। 
मैले भेटेका धेरै कोरियनलाई नेपाल पटक्कै थाहा छैन। अलिकति पनि थाहा छैन। 
‘अनुमानमा भन्नुस् त नेपाल भनेको के हो?’, म निकै कर गर्छु। 
निकैबेर गम खान्छन्। अनि अनुमानित उत्तर दिन्छन्, ‘मासिङ्गो उमसिक (मिठो खानेकुरा) हो कि!’
मेरो देशलाई त खानेकुरा पो भनिदिन्छन्। 
अनि कत्तिले चाहिँ मेरो नाक र छाला हेरेर अनुमान लाउँछन्। नेपाल भनेको कुनै ठाउँ वा देश नै हो तर, कहाँ हो थाहा छैन! 
‘तिमी गोरो छैनौ, त्यसकारण नेपाल युरोप–अमेरिकातिर पर्दैन।’
‘तिम्रो नाक चुच्चो छ। यसकारण नेपाल चीन वा मंगोलिया, भियतनाम, जापानतिर पर्दैन।’
‘तिमी अफ्रिकन जति कालो छैनौ, अफ्रिकाको छेउछाउको जस्तो कालो छौ। त्यसैले नेपाल अफ्रिकाको छेउतिर पर्छ होला।’
नेपालमाथि यस्ता अचम्मलाग्दा कुरा सुन्दा अवाक हुन्छु।  
आफ्नो देशको बारेमा यति धेरै अनौठा कुरा सुन्नु पर्छ भनेर मैले कहिल्यै सोचेको थिइनँ।  
यहाँ त नेपाल भने एकादेशको लोककथा जस्तो पो रहेछ। अलि–अलि हिमालले थेगेको छ नेपाल नामलाई धन्य! 
मेरो लिम्बु साथी र म एकै देशका हौं। घर एकै ठाउँमा छ भन्दा पत्याउन मान्दैनन्। 
एक साधारण कोरियनले जानेको कुरा, ‘एक देशमा एकै छाला हुन्छ। एक देशमा एकै अनुहारको बनोट हुन्छ। एक देशमा एकै भाषा बोलिन्छ।’

नेपाल भनेको हिमाल मात्रै भनेर बुझ्ने कोरियनलाई बुझाउन सक्ने धेरै कुरा छन्। एक कोरियनको लागि हिमाल जति रोचक हुन्छ त्यति नै रोचक अरु कुरा पनि हुन्छ। हिमाल प्रति ऊ जति आकर्षित हुन्छ, त्यति नै आकर्षित अन्य कुरामा पनि हुन्छ। 
जस्तो तराई!
पहाडै पहाडले भरिएको कोरियन आँखाले तराई कति सुन्दर देख्ला? आँखाभरी फाँटैफाँट देखेर कति खुसी होला!
एक कोरियनको लागि त हिउँदको बेला तराईमा लाग्ने हुस्सु पनि निकै सुन्दर हुन सक्छ। हामीले तराईको हुस्सु सौन्दर्य पनि बुझाउन सक्छौं। 

कोरिया एकै भाषा भएको देश हो। 
‘मैले काम गर्ने कम्पनीमा ६ जना नेपाली छौं, ६ भाषा बोल्छौं। प्रत्येकको छुट्टाछुट्टै भाषा र परम्परा छ। भिन्दा–भिन्दै मौलिक पोसाक छ, आफ्नै पहिचान छ।’
मैले यसो भन्दा हिमालबारे सोध्दै गरेको कोरियनले तिम्रो मातृ भाषामा ‘मेरो नाम यो हो भन्दा कसरी भन्ने?’ भनेर सोधी भ्याउँछ। भलै उसले नबुझोस्। 
कोरियामा लगभग एकै किसिमको हावापानी छ। जाडोमा निकै जाडो र गर्मीमा निकै गर्मी। 
यो देशको जनतालाई त हाम्रो देशको हावापानीसमेत अचम्म लाग्छ। 
मेरो घरमा गर्मी याममा चालिस डिग्री सेल्सियस तापक्रम हुन्छ। एक घण्टा मोटर चढेर उत्तर लागेपछि अठार देखि बीस डिग्री तापक्रम भएका अग्ला पहाडहरु भेटिन्छन्। यही कुरा घुम्न रुची राख्ने कोरियनको लागि आकर्षण हो। 
नेपालमाथि चासो राख्ने कोरियन थुप्रै भेटिन्छन्। नेपाल नसुनेका कोरियनहरु पनि थुप्रै भेटिन्छन्। हामीले तिनीहरुलाई बुझाउनको लागि हिमाल मात्र छैन, तराइ छ, पहाड छ। आफ्नै गाउँटोल छ, आफ्नै घर छ। 
विदेशमा बस्ने प्रत्येक नेपालीले आफ्नो देश अरुलाई बुझाउनु पर्छ। यो कामको लागि कुनै ठूलो मेहनत गर्नुपर्दैन। आफूले गरिराखेको काम छाड्नु पनि पर्दैन। खल्तीको पैसा मास्नु पर्दैन। विदेशीसँग गफ गर्दागर्दै काम गर्न सकिन्छ। 
कोरियामा बस्ने धेरै नेपालीले कोरियनलाई देशको बारेमा बुझाउँछन्, आफ्नो बारेमा बुझाउँछन्। 
चासो राख्नु र अरुको बारेमा थाहा पाउन खोज्नु कोरियनहरुको स्वभाव हो। यो स्वभावको फाइदा हामीले आफ्नो देशबारे बुझाएर लिन सक्छौं। 
कोरियनहरु दिनरात काम गरिरहेका हुन्छन्। कामबाट दिक्क बन्छन् अनि थोरै फुर्सदमा उनीहरुको योजना घुम्ने हुन्छ। घुम्नुलाइ उनीहरु औषधीका रुपमा लिन्छन्। 
मैले भेटेका धेरै कोरियनहरु भियतनाम, कम्बोडिया थाइल्यान्ड गएका छन्। उनीहरुले त्यो देश बुझेका छन्, बुझाइएको छ। जानेका छन्। धेरै मान्छेले जानेकै ठाउँमा यात्रा गर्न रुचाउँछन्। 

सँगै काम गर्ने कम्बोडियन साथी र म एक अर्काको देशका बारेमा खुब कुरा गर्छौं।  कम्बोडियन साथीले मलाई खुब प्रभाव पारेको छ। 
त्यहाँ प्रायः केटाहरु घर ज्वाइँ बस्ने चलन रहेछ। बिहेको लागि केटा पक्षले केटी पक्षलाई टन्नै पैसा तिर्नु पर्दोरहेछ। एउटा जवान केटाको सपना शानसँग बिहे गर्नु हो। यस्ता कुरा मलाई निकै रोचक लाग्छ। 

‘हाम्रोमा विवाह एकै संस्कारको छैन। तराईमा केटी पक्षले केटा पक्षलाई पैसा तिर्ने चलन छ। केटीहरु अनिवार्य रुपमा आफ्नो घर छाडेर केटाको घरमा जानुपर्छ,’ मैलै यसो भन्दा कम्बोडियन साथीले भन्यो, ‘कस्तो उल्टो चलन!’ 

मेरो एक रहरः कम्बोडियन विवाह समारोहलाई नजिकबाट हेर्नु। 
यसकारण कुनैदिन कम्बोडिया जान सक्छु। एकजना मान्छेलाई कसरी व्यक्तिगत रुपमा देश घुम्नको लागि प्रभाव पार्न सकिन्छ, यो मेरो अनुभव हो।
दुनियाँमा म जसरी प्रभावित बन्न सक्ने मान्छे पाइलैपिच्छे भेटिन्छन्। मैले सुनाउने मेरो देशको कुराले कोरियनहरु पनि प्रभावित छन्। 
सँगै काम गर्ने अर्को भियतनामी साथी पनि छ। म होची मिन्हको फ्यान। यसकारण भियतनाम र होचीका बारेमा सोधीखोजी गर्छु। एकपल्ट होचीको देश पुग्ने मेरो पुरानो रहर हो, जो अझै जिवित छ।
उसले भुलवस मलाई निकै खराब प्रभाव पारेको छ। 
‘मेरो देशमा धेरै चोरहरु छन्। तिम्रो हातको क्यामेरा खोसेर भाग्छन्। हातबाट मोबाइल थुतिदिन्छन्। वालेट तानिदिन्छन्,’ यति भन्दा उसका आँखा डरलाग्दा भएका थिए। अनुहारको रंग फेरिएको थियो। स्वर ठूलो भएको थियो। 
कुनै दिन भियतनाम पुगेँ भने पटक–पटक खल्ती छामिरहने छु। क्यामेरा, मोबाइल बलियोसँग समात्ने छु। 
विदेशमा बस्नेहरुले आफ्ना विदेशी साथीहरुलाई आफ्नो देशमाथि कस्तो प्रभाव पार्ने भन्ने कुरा उसको सोचाई र चेतनामा भर पर्छ। 
यी दुई फरक देशका मित्रहरुले मलाई अलग–अलग प्रभाव पारे। जो मेरा ती दुई देश माथिको सोचाईमा सधैं असर गरिरहने छ। 
कोरियामा धेरै नेपालीहरुले कोरियनहरुलाई सकारात्मक प्रभाव पारिरहेका छन्। आफूले सकेको कुरा बुझाइरहेका छन्। कोरियनहरुलाई नेपाल घुम्न उत्प्रेरित गरिरहेका छन्। 

सामान्यतयाः कोरियनहरु काम चलाउ अंग्रेजी समेत जान्दैनन्। उनीहरुको आफ्नै भाषा छ। यहाँ आउने विदेशीले अनिवार्य कोरियन भाषा जान्नै पर्छ। नत्र शौचालयसमेत जान सक्दैनन्। शौचालय जाने बाटोसमेत कोरियन भाषामा देखाइन्छ। 
इन्टरनेट आफ्नै भाषामा चलाउँछन्। गुगल सर्च इन्जिन निकै कम प्रयोग गर्छन्। आफ्नै भाषामा चल्ने इन्टरनेट सर्च इन्जिन नेभर चलाउँछन्। 
घुम्न जाने कोरियनहरु आफ्नै भाषा जान्ने गाइड चाहन्छन्। आफ्नै भाषामा ट्राभल प्याकेज बुझ्न चाहन्छन्।
धेरै कोरियनहरु भियतनाम, कम्बोडिया जानुको खास कारण त्यहाँ कोरियन भाषा जानेका गाइडसँग घुम्न पाउँदा रहेछन्। 
‘मलाई धेरै कोरियनले ‘नेपालमा कोरियन भाषा जानेको गाइड पाइन्छ कि पाइँदैन’ भनेर सोधेका छन्। 
कोरियामा चार–पाँच वर्ष बसेपछि एक नेपालीले काम चलाउ कोरियन भाषा जानिसक्छ। अरुलाई कुरा बुझाउन सक्ने कोरियन भाषा सिकिसक्छ। 
कोरिया बसेर फर्केकाहरुले गर्नुपर्ने एउटा काम, कोरियन पर्यटन व्यवसाय हो।
उनीहरुले भाषा मात्र हैन, कोरियन स्वभाव बुझेका हुन्छन्। कोरियन संस्कार जानेका हुन्छन्। औषत आनीबानी थाहा पाएका हुन्छन्। कस्तो व्यवहार गर्ने भनेर जानेका हुन्छन्।
विदेश घुम्न गएको एक यात्रीका लागि आफ्नै भाषामा त्यहाँको बारेमा बुझ्न पाउँदा ऊ डबल खुसी हुन्छ। 
पाहुनालाई खुसी बनाउनु हामी नेपालीको संस्कार हो।

Popular posts from this blog

'सायन' नामको कथा

‘भोलि’ नभएकाहरूको बोली

परदेशको किताब