सपनाबाहिर-सपनाभित्र

यो कथासँगै महेन्द्रनगर , कन्चनपुर आइपुगें । एकै छिन पछि महाकाली नदी भेटिन्छ । देश सकिन्छ । साँच्चै सिमाना हुँदैन थियो भने के हुन्थ्यो ? राष्ट्रवादको काँचो वायु कहाँबाट चल्थ्यो ? कहाँ जान्थ्यो । सिमाना शक्ति हो । सान हो । हामी सान र शक्तिको पुजारी हौं । भक्क्त हौं । तर यो कथा सिमानाभन्दा माथि र जीवभन्दा परको ‘जिन्दगी’को कथा हो । जहाँ सान र शक्ति शून्य छ । राष्ट्रवादमा पूर्णविराम छ । शक्तिको भक्तिको लागि पनि आफूभित्र थोरै शक्ति नै चाहिन्छ । तर यहाँ शक्ति जिरो माइलमा स्थिर छ । सरकारले बाटो बढाएको छ । त्यही बढेको बाटो किनारमा त्रिपालका पाँच पाल छन् । जो महेन्द्रनगर पूर्व लालपुरमा भेटिन्छ । एउटा पाल बाहिर बाँसको लौरो भाँच्ने बलको प्रतियोगिता भइरहेको छ । तर उनीहरु बलिया छैनन् । मेरो प्रवेशपछि खलबल भयो खेल । एउटा किशोर केटोले मलाई प्रस्ताव राख्यो ‘यो भाँच्नु ? पाँच सय बाजी छ ।’ मैले बाजी स्वीकार्न नपाउँदै एक महिलाले उसल...