सपनाबाहिर-सपनाभित्र
यो कथासँगै महेन्द्रनगर,कन्चनपुर आइपुगें । एकै छिन पछि महाकाली नदी भेटिन्छ । देश सकिन्छ । साँच्चै सिमाना हुँदैन थियो भने के हुन्थ्यो ? राष्ट्रवादको काँचो वायु कहाँबाट चल्थ्यो ? कहाँ जान्थ्यो ।
सिमाना शक्ति हो । सान हो । हामी सान र
शक्तिको पुजारी हौं । भक्क्त हौं । तर यो कथा सिमानाभन्दा माथि र
जीवभन्दा परको ‘जिन्दगी’को कथा हो । जहाँ सान र शक्ति शून्य छ ।
राष्ट्रवादमा पूर्णविराम छ । शक्तिको भक्तिको लागि पनि आफूभित्र थोरै शक्ति नै
चाहिन्छ । तर यहाँ शक्ति जिरो माइलमा स्थिर छ ।सरकारले बाटो बढाएको छ । त्यही बढेको बाटो किनारमा
त्रिपालका पाँच पाल छन् । जो महेन्द्रनगर पूर्व लालपुरमा भेटिन्छ ।
एउटा पाल बाहिर बाँसको लौरो
भाँच्ने बलको प्रतियोगिता भइरहेको छ । तर उनीहरु बलिया छैनन् । मेरो
प्रवेशपछि खलबल भयो खेल । एउटा किशोर केटोले मलाई प्रस्ताव राख्यो ‘यो भाँच्नु ? पाँच सय बाजी
छ ।’ मैले बाजी स्वीकार्न नपाउँदै एक महिलाले उसलाई हकारी । भाषा बुझिनँ । खेल बन्द
भयो ।
मैले ती महिलाको नाम सोधें । उनी रिसाइन्
—‘हाम्रो नाम छैन ? जाति बंगाली ! तिम्रो जाति पहाडी । नाम भनेर के
मिल्छ ?’
के मिल्छ भन्नु ! केही छैन
मिल्ने कुरा । फोकटमा अन्जानलाई किन नाम भन्नु ? ठिकै हो ।
मौन बसें । आँखामा
दृश्य पसे । सानो दूधे बालक धुलोमा खेलेरहेको छ । जसको खुट्टा
र टाउको नांगै छ । हिउँदे बतासले उसको कलिलो कपाल उडाउँदै छ । किशोर हुनै
लागेको एउटा केटो पनि नांगै खेल्दै छ । उसको अंगमा लाज पस्न सुरु भएको
छ । मलाई देखेर लजायो । पालभित्र पस्यो । कमलले जिउ
छोप्यो । अघि,
नाम भन्न नमान्ने महिलालाई आमा
भन्यो । केही बोल्यो । बुझिनँ । ती महिलाले
पनि केही बोलिन् । बुझिनँ ।
छाप्रामा सबै मान्छे छैनन् । कोही माग्न
गएका छन् । कोही काम गर्न । मसिना भुरा खेल्दैछन् ।
मैले मौनता तोडें । ‘मेरो नाम रमेश हो ।’ उनले आफ्नो नाम भन्न नमानेपछि मैले आफ्नो नाम भनें । मेरो नाम सुनेपछि उनको ओठले मन्द मुस्कान समात्यो । आँखा मतिर फर्किए ।
एउटा किशोर केटालाई देखाउँदै
भनिन् —‘यो मेरो छोरा हो । यसको नाम रमेश हो । दुई महिना भयो सादी भएको । मैले
नसोधेको प्रश्नको उत्तर पनि दिइन् ।
‘ए होर ! हाम्रो नाम मिल्यो । मित लाउने हो ?’ मैले सोधें तर उनीहरुले ‘मित’ बुझेनन् । उसै फिस्स
हाँसें । एउटा प्रसंग यहीँ तुरियो ।
‘नाम सोध्दा किन रिसाउनु भएको हो ?’
‘अहिलेसम्म कोही मान्छेले मेरो नाम सोधेको छैन ......’
फेरि मैले उनको नाम सोधें । तर उनले आफ्नो भन्न सकिनन् ।
‘किन नाम नभन्नु भएको ?’
‘मेरो नाम थाहा छैन । नामको के काम ?’
‘के भनेर बोलाउने तपाईंलाई ?’
उनी मौन भइन् ......!
बरु उनले आफ्नो बुढाको नाम भनिन्
—धबेन्द्र । माइलो छोराको नाम भनिन्– शिवा । अरु तीन
बच्चाको नाम भनिन् । आफ्नो नाम बिर्सिइन् । आफ्नो नामको काम छैन । काम नभएको
नाम बिर्सनु निको । लोग्नेले स्वास्नी भन्छ । छोराछोरीले
आमा । संगतिया र छिमेकसँग आ—आफ्नो साइनो छ । बाहिर माग्न
जाँदा नामको कुनै काम छैन । नाम लेख्न अक्षर छैन । उनले भने जस्तै — ‘नामको के
काम ?’
‘बिहे गरेर बुहारीलाई कहाँ ल्याउनुभयो ?’
‘यही घरमा ।’
घर भनेको महल हैन । घर भनेको
आउने जाने ठाउँ हो । जन्म, मृत्यु र कर्मको ठेगाना हो । त्रिपालको
सानो छाप्रो हाम्रो जस्तै उनीहरुको प्रिय घर हो । जसको खुट्टा छ । बेलाबेला
हिँडिरहन्छ । सरिरहन्छ । जिन्दगी जहाँ-जहाँ पुग्छ घर
त्यहीँ-त्यहीँ पुग्छ ।
‘आज कतै माग्न जानु भएन् ।’
‘बुहारी गइ । चामल ल्याइ । हामी गएनौं ।’
‘कति चामल भयो त ?’
उनले चामल देखाइन्.....।
‘कति दिन पुग्छ यति चामलले ?’
‘पुग्छ आज र भोलि ।’
‘त्यसपछि ?’
‘फेरि माग्ने,
खाने ।’
‘तपैंका बच्चाहरु कहाँ जन्मिएका हुन् ?’
‘नेपालका सरकारी अस्पतालमा । त्यहाँ बच्चा जन्माउँदा पाँच
सय रुपैयाँ दिन्छ ।’
‘त्यो पैसाले के गर्नु भयो त ?’
‘सुत्केरीमा मासु किनेर खाएँ ।’
उसको माइलो छोरा शिवालाई आफ्नो
नाम मन पर्दैन । त्यसैले मैले जस्तै उसले पनि अफ्नो नाम आफैले
राखिदियो — बिराज बंगाली ।
‘किन बिराज नाम राखेको ?’
‘म बिराज भट्ट जस्तै बन्ने हो । फाइटवाला फिल्मको हिरो ।’
उनी बिराज भट्टको फ्यान रहेछन् । खुबै
हेर्दारहेछन् ।
‘केमा हेर्नु हुन्छ फिल्म ?’
‘मोबाइलमा !’
उनीहरुसँग फिल्म हेर्न मिल्ने
मोबाइल रहेछ ।
सपना देख्न आँखा चाहिन्छ । मुटु
चाहिन्छ । हिम्मत चाहिन्छ । यो किशोरसँग सबै छ । तर ऊ अक्षर
पढ्न सक्दैन । तर कस्तो भब्य सपना......
‘तिमी स्कुल जाँदैनौं कसरी बिराज भट्ट जस्तो बन्छौ त ?’ घाँटीमा आइसकेको प्रश्ने घुटुक्क निलें ।
एउटा किशोरको सपनामाथि प्रश्न
गर्न कसरी सकुँ ?
‘स्कुल जान मन लाग्दैन ?’
‘हाम्रो जातिमा कोही स्कुल जाँदैन ।’
छोराको सपना सुनिरहेका उनका बाबु
त्रिपालको पालभित्र एउटा फुटेको सानो एैनाको टुक्रामा आफ्नो अनुहार हेरिरहेका छन । राजेश
हमालको जस्तो उननको कपाल, कोरिहेका छन् ।
हाम्रोतिर एउटा भनाइ छ —‘फुटेको
ऐना हेर्यो भने भाग्य फुट्छ !’
उनीसँग गफ गर्न चाहान्थें । तर उनको
रुचि गफमा थिएन ।
बिराजकोे मग्नी भइसकेको छ । दाइजोमा
दाइले जस्तै उनले पनि नयाँ साइकिल पाउनेछन् । जुन पक्का भइसकेको छ । बिराजकी आमा
बाल्टिन बोकेर पानी लिन हिँडिन् । रमेश आफ्नो नयाँ साइकिल मैलो कपडाको टालोले पुच्छदैछ । उसकी बूढी
असाध्य लजालु रहिछिन् । बोल्न मानिनन् ।
शिवा उर्फ बिराजसँग जिन्दगीको कथा निर्माण भइसकेको छैन । सपना मात्र छ । जुन सुनाइहाले । उनका दुई भाइ र एक बैनीसँग सपना पनि छैन कथा पनि छैन । यो परिवारको कथा उनीहरुको जिन्दगी जस्तै बिश्रृंखलित भयो ।
अब सुरजदेवको कथा अघि बढ्ने छ ।
सुरजदेवको बोलीको लवज अगिल्लो
परिवारको जस्तो थिएन । पाहडी दार्चुल्याहरुको जस्तो थियो । तर उनी
उताका हैनन् । उमेरको हिसाब त उनीसँग पनि छैन तर देखिन्छन् चालीस
पैतालीसका । उनी भर्खरै काम गरेर आएका रहेछन् । यी छाप्राका
सबै मान्छे काम गर्दैनन् । भोकको गर्जो मागेर टार्छन । तर
सुरजदेवले अहिलेसम्म मागेका छैनन् । सानैदेखि दार्चुला, डडेलधुरा, बैतड तिर गए । सडक खन्ने
काम गरे । भारी बोके । त्यसैले उनको बोलीमा उतैको लवज
सल्कियो । बानी पनि उतैको सर्यो ।
उनको पुर्खेउली घर गौरीफन्टा हो । स्वास्नी
छोराछोरी उतैछन् । उनले आफ्नो नारीमा श्रीमतीको नामको ट्याट्यु
खोपेकाछन् —थानी देवी । पाँच वर्षको एक छोरा, तीन वर्षकी एक छोरी छन् ।
उनले भनेका छन् ‘अब छोराछोरी
जन्माउँदिनँ । दुई भए, पुग्यो ।’ उनका लागि
सन्तान इश्वोरले दिँदैनन् । आफैंले दिने हो ।
‘छोराछोरीलाई के बनाउनुहुन्छ ?’
‘पढाउँछु । जे बन्छ त्यही बनाउँछु ।’ छोराछोरीमाथि कुनै आकार
प्रकारको सपना निमार्ण भइसकेको छैन । अथवा ‘यो बनाउँछु त्यो बनाउँछु
!’ भन्न जानिसकेका छैनन । तर ‘पढाउँछु !’ भन्न जानिसकेका छन् । समूहका
अरुभन्दा भिन्न बन्न सिकिसकेका छन् ।
‘यहाँका धेरै मान्छे माग्ने काम गर्दारहेछन् ? तपाईंचाहिँ
किन सधैं काम गर्नु हुन्छ ?’
‘मेरा हातखुट्टा छन् । बल छ । किन मागेर
खाऊँ । माग्दा मान्छेले हेप्छ । कराउँछ । गाली दिन्छ । म माग्दिनँ । काम गरेर
खान्छु । अरु माग्छन् । त्यो अरुको इच्छा । आ–आफ्नो
इच्छाले जिउने हो । मेरो इच्छा त्यो छैन । मैले मागे भने मेरा छोराछोरीले
पनि माग्न सिक्छ । यहाँ आफ्ना बाआमासँग सबै बच्चा माग्न जान्छ । त्यही सिक्छ ।’
उनी गरिब होलान् तर दरिद्र हैनन् । गरिब एक दिन
धनी हुन्छ । तर दरिद्र कहिल्यै धनी हुँदैन । हाम्रो
समाजमा कैयौं धनी छन् । जो दरिद्र छन् । ती कहिल्यै वास्तविक धनी
हुँदैनन् । धनी भनेको इमान्दारिता हो । आफूभित्रको
विश्वास र परिवर्तन हो । पैसा मात्र हैन । सम्पत्ति मात्र हैन ।
‘श्रीमतीलाई किन नल्याउनु भएको ?’
‘ल्याएर कहाँ राख्नु यस्तोमा । दुख्ख हुन्छ । डेरा बस्दा
पैसा खर्च हुन्छ । घरमै छ । छोराछोरी हेर्छ ।’
‘दिनको कति पैसा कमाउनु हुन्छ ?’
‘पाँच सय दिन्छ । खान पनि दिन्छ ।’
उनी साह्रै फरासिला थिए । मिठो बोल्थे । उनको
मातृटोन र खास खसटोनको ककटेलले लवज खुबै मिठो बनाएको थियो ।
‘हातमा किन श्रीमतीको नाम लेख्नु भएको हो ?’
‘म स्वास्नीलाई धेरै माया गर्छु ।’
‘तपाईंलाई यो पढ्न आउँछ ?’
‘आउँदैन तर यो मेरै स्वास्नीको नाम हो ।’
उनी हाँसे । ट्याटु
खोप्ने मान्छेले अरु कसैको नाम खोपेको भए पनि उनको लागि त्यो नाम ‘थानिदेवी’ नै
हुन्थ्यो । तर ट्याटु खोप्ने मान्छे पनि काम गर्ने मान्छे हो । काम गर्ने
मान्छेले बेइमानी गर्दैन । जस्तै घाँटीमा छुरा चलाउने हजामले बैमान गर्दैन ।
‘सधैं यसरी बाहिर बस्नु हुन्छ ?’
‘नाइँ नाइँ कन्जेकन्जे घर जाने हो । बर्खामा घर गहिहाल्ने । उता
स्वास्नी छोराछोरी छ । तीनलाई खान लाउन दिनुपर्छ । पैसा कमाउनु
र्छ । स्वास्नी, छोराछोरी पाल्नुपर्छ । त्यसैले
हिउँदसम्म यसरी हिँड्ने हो । बर्खा घर जाने हो ।’
एउटा पुरुष श्रीमतीको सिरानेबाट
दार्चुलाको भि तिर भाग्छ । पहाडी लेकतिर पुग्छ । बेस्मारी चिसिन्छ । तर ऊ कायर
हैन । प्रेमी हो । कायर हैन । जिम्मेवार
हो ।
‘यसरी एक्लै बस्दा श्रीमती छोराछोरीको याद आउँदैन ?’
‘किन आउँदैन । तपाईंलाई आउँदैन ? बेस्मारी आउँछ । हामी सेठ
(धनी) हैन । सधैं एकै ठाउँमा बस्न सकिँदैन । अर्काकी
छोरी बेटी ल्याएपछि खान लाउन दिनुपर्छ । छोराछोरी जन्माएपछि पाल्नुपर्छ । नत्र उनीहरु
दुख्ख मान्छन् । रुन्छन् । परिवारलाई दुख्ख दिनु हुँदैन । अनि यसरी
हिँड्नुपर्छ । टाडाटाडा पुग्नु पर्छ ।’
उनी केहीबेर मौन बसे । उनको
मौनताले मलाई बोल्न दिएन । आफ्नो दुनियाँ छाडेर कैयौं दिन परदेश हिँड्छ पुरुष । लुकेर रुन्छ । देखिएर
हाँस्छ । भित्र मनमा पैरो जान्छ । बाहिर चट्टान जस्तो उभिन्छ । फरक छ पुरुष
देखिँदा र बाँच्दा ।
‘अब कहिले जाने त घर ?’
‘होलीमा !’
‘के लगिदिनु हुन्छ छोराछोरीलाई ?’
‘नयाँ लुगा, खानेकुरा त्यस्तै ।’
‘अरु ?’
‘एउटा खेलाउने कुरा लगिदिन्छु । धेरै खुसी हुन्छ । डडेलधुरामा
सेठकोमा काम गर्दा देखेको ! कति धेरै बच्चालाई खेलौना किनिदिएको । तीनका बच्चा धेरै खुसी हुन्थें । उता डिल्ली(दिल्ली)मा काम गर्ने घरमा पनि त्यस्तै । खेलौना पाए पछि बच्चा धेरै खुसी हुन्छ । म पनि एउटा किनिदिन्छु, यो होलीमा ।’
उनको अनुहार उज्यालो भयो । मानौं, अहिले नै उनको
बच्चाले खेलौना पाइसकेको छ । उनको सेठको छोराछोरी जस्तै उनको बच्चाहरु पनि खुसी
भएका छन् । बच्चा खुसी हुन सेठको घरमा जन्मिनु पर्दैन । खुसीले धनी
र गरिब चिन्दैन । खुसी त उच्च हिमाली मैदान जस्तो हो । जो
गहिराइबाट उठेर उच्चाइमा समिन्छ । फैलिन्छ ।
‘बिहे कहाँ गर्नु भएको हो’
‘इन्डियामै हो । ’
‘दाइजो कति लिनु भयो ?’
आठ इन्चीको सादा टिभी,पलङ, साइकिल दिइएको
थियो ।
सुरजदेवले पुरानो साइकिल
देखाउँदै भने ‘यही साइकिल हो ।’ साइकिलको चक्का नयाँ थियो । भर्खरै
फेरेका रहेछन् । यो साइकिलले उनलाई थुप्रै ठाउँ लग्यो । दैनिकी छिटो
छरितो बनायो । खुसी बनायो ।
टिभी घरमा चलिरहेको छ । पलङमा सुतिरहेका छन् ।
मधेशमा दाइजोको मोलमोलाइ खराब कुरा होला । तर त्यही दाइजोले उनको जिन्दगी सहज बनाएको छ । त्यो साइकिल हुँदैन थियो भने आज बिहान उनी सात किलोमिटर टाढा तोरी उखेल्ने काम गर्न जान सक्दैन थिए । पाँच सय कमाउन मुस्किल हुन्थ्यो । (मोलमोलाइको दाइजो परम्परा ठीक हैन । तर, यहाँ सुरजको लागि ठीकै भएको छ ।)
बिहेपछि उनी श्रीमतीसँग थुप्रै
ठाउँ घुम्न गएछन् । डडेलधुरा, दार्चुला, बाजुरा
पुगेछन् । पहिला जहाँ जहाँ काम गरेका थिए ती सबै ठाउँ पुगें । आफ्ना
मालिकहरुसँग भेटे । श्रीमती चिनाए । मालिकहरुले भनेछन् साह्रै
राम्री केटी बिहे गरेछौ । अब दुवै यतै बस । यतै काम गर । सुरज मख्ख
परे । तर उनकी श्रीमतीले पहाड मन पराइनन् । उनी
फर्किइन् । आफ्नै गाउँठाउँ ।
छोराछोरीलाई के बनाउने रहर छ ?
अनुहार चम्किलो बनाउँदै उनले
आफ्नो सपना सुनाएँ, ‘यसपाली परिवारलाई लिएर आउँछु । एउटा कोठा भाडामा लिन्छु । म काम गर्छु । स्वास्नीले खाना बनाएर राख्छ । बच्चालाइ हेर्छ । स्कुल
पठाउँछ । ठूलो मान्छे बनाउँछु ।’
तर कस्तो ठूलो मान्छे ?
ठूलो मान्छेको आकार बनाइसकेका छैनन् । उनको लागि ठूलो भनेको अमूर्त आकार हो
Comments
Post a Comment