उपहार अपराध
दशैं सुरु हुँदै गर्दा, हामीले थाहा पायौं नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले झन्डै ११ रोपनी जग्गा भाटभटेनीका मालिक मिन बहादुर गुरुङबाट उपहार पाएको छ। त्यो जग्गामा उनै गुरुङले भवन पनि निर्माण गर्दैछन् भन्ने समाचार अहिले सुनिरहेका छौं। एमालेका प्रमुख केपी ओली देशका प्रधानमन्त्री हुन्।
त्यो जग्गाको मूल्य कति हो, मलाई थाहा छैन। तर मलाई लाग्छ त्यो अरब आसपासको हो। यति धेरै सम्पत्ति देश चलाउने पार्टीले उपहार पाउँछ भने, दान दिनेले पाउनेलाई कति प्रभावमा राख्छ !
अनुमान लगाउन सकिन्छ।
कसैले ठूलो उपहार दिन्छ भने उसले भनेको कुरा पनि मान्नुपर्छ। नाइँ भन्न सकिँदैन। उपहारको शक्ति धेरै ठूलो हुन्छ। अब उपहारको शक्ति थाहा पाउने बेला आउँदैछ। ख्याल गर्नु होला!
नेपालका नेता र उनीहरूले पाउने उपहारको मूल्य कति हो र कुन स्रोतको हो, खोजी हुँदैन। दानको दीर्घकालीन असर के हुन्छ, चर्चा हुँदैन। यहाँ धेरै नेता र जनता अवसर नपाएर मात्र इमान्दार हुन पाएका छन्। त्यसैले यसरी सित्तैमा पाउने दानबारे चर्चा हुँदैन। केपी ओलीले देखाएर लिए, नदेखाई लिने त प्राय: सबै नेता छन्। ठूला पदका कर्मचारी छन्। उपहार दिनेले सधैं कुनै न कुनै स्वार्थ राखेका हुन्छन्।
आउनुहोस्, देश बाहिरको एक दानबारे चर्चा गरौं।
२०१७ मा दक्षिण कोरियामा राष्ट्रपति थिइन्, पार्क ग्युन हे। उनी मुख्यत: भ्रष्टाचार र पदियदुरुपयोगको मुद्दामा जेल परिन्। पार्कलाई विश्वले चिन्छ। उनले गरेको पदको दुरुपयोगको संसारभर चर्चा हुन्छ। उनीसँगै उनको निकट साथी चोइ सुन सिललाई पनि धेरैले चिन्छन्।
चोइ सुन सिल राष्ट्रपति पार्ककी नजिककी साथी थिइन्। चोइ सुन सिलका पिता चोइ ताय मिन धार्मिक अभियन्ता थिए। “धामीझाँक्री” टाइपका भन्दा हुन्छ। “छुँएर रोग निको पार्छु, झारफुक गर्छु, मेरेको मान्छेको आत्मासँग कुरा गर्छु” भन्ने गर्थे। उनले “चर्च अफ इटर्नल लाइफ” नामक धार्मिक संस्था चलाएका थिए।
१९७४ मा पार्ककी आमाको हत्या भयो। त्यस बेला उनका पिता पार्क चुंग हे राष्ट्रपति थिए। पार्क त्यसबेला २३ वर्षकी थिइन्। उनी आमाको मृत्युको शोकमा भईरहेकै बेला, चोइ ताय मिनले पार्क ग्युन हेलाई चिठ्ठी लेखे। जसमा भनिएको थियो, “तिम्री आमा सपनामा मसँग आइन र कुरा गरिन्। म तिमीलाई तिम्री आमासँग कुरा गराउन सक्छु।”
त्यसैबेला देखि चोइ र पार्क परिवार एक अर्कासँग अझै नजिक भए। चोइ ताय मिन साह्रै चलाख थिए। राजनैतिक पहुँच बढाउँदै गए र धार्मिक संस्थाहरूमा चन्दा भित्र्याउन थाले।
१९७९ मा पार्क ग्युन हेका पिताको पनि हत्या भयो। त्यसपछि चोइ उनको धार्मिक सल्लाहकार हुँदै अभिभावक जस्तो भूमिकामा देखिन थाले। चोइ ताय मिनकी छोरी चोइ सुन सिल र पार्क ग्युन हे मिल्ने साथी भए।
१९९४ मा चोइ ताय मिनको मृत्यु भयो।
छोरी चोइ सुन सिल र पार्क झनै मिल्ने साथी भए। एक अर्काको आडभरोसा बन्न पुगे। पिताको मृत्यु पछि पार्क राजनीतिमा नयाँ शक्तिको रूपमा उदाइन्। पार्क चुनाव जितेर राष्ट्रपति भवन “ब्लू हाउस” छिरिन् भने चोइ साथीको अनौपचारिक सल्लाहकारको रूपमा छिरिन्। चोइ सुनले कुनै नियुक्ति लिएकी थिइनन् तर उनी पार्कको सबैभन्दा नजिककी सल्लाहकार थिइन्। पार्कले गर्ने भाषण सम्पादन, लगाउने लुगा र महत्त्वपूर्ण निर्णयमा सधैं चोइ सुन सँगै हुन्थिन्।
चोइ यति शक्तिशाली थिइन् कि आफ्नो धार्मिक र निजी संस्थाहरूमा सामसुङ, एलजी, लोटे जस्ता ठूला व्यावसायिक संस्थाहरूबाट ठूलो मात्रामा चन्दा उठाउँथिन् र व्यक्तिगत खर्च गर्थिन्। राष्ट्रपति पार्कले ठूला कर्पोरेट हाउसहरूलाई चोईको संस्थाहरुलाई चन्दा दिन प्रेरित गर्थिन्।
२०१७ को जाडोमा धेरै ठूलो आन्दोलन भयो। लाखौं जनता सडकमा आए। सधैं “काम काम” भन्ने जनता काम छाडेर सडकमा उत्रिए। कोरियन जनतालाई एलिभेटरमा उभिने पनि फुर्सद हुँदैन, ती सिढी टाईपका एलिभेटरहरुमा दौडिरहेका हुन्छन् । असाध्य व्यस्त जनताले देशको बेथितीविरुद्ध समय निकाले र चर्को आन्दोलन गरे।
चोइ सुन सिलकी छोरी, चुंग युरा, २०१४ को एसियाली खेलकुदमा घोडचढी खेलमा स्वर्णपदक विजेता हुन्। चोइले गैरनाफामूलक संस्थाको लागि उठाएको चन्दा उनले आफ्नी छोरीको प्रशिक्षणमा खर्च गरेको आरोप लाग्यो।
ईव्हा वुमन्स युनिभर्सिटीमा चुंग युराले भर्ना पाइन्। त्यो भर्ना नियमविपरीत थियो। भर्नाको समय सकिएपछि उनलाई त्यहाँ भर्ना गरिएको थियो। घोडचढीमा स्वर्ण पदक विजेता भएको कारण उनलाई नियमविपरीत भर्ना गरिएको थियो। यो सीधा आमा चोइको प्रभावको कारण थियो।
उनले कक्षा लिइनन्। कुनै असाइनमेन्ट पनि बुझाइनन् तर सबैभन्दा धेरै अंक प्राप्त गरिन्। यसो गर्नुमा आमाको राजनैतिक पहुँच थियो। सहपाठीहरूले आन्दोलन गरे। सुरुमा त विश्वविद्यालयले आरोप अस्वीकार गर्यो तर पछि विश्वविद्यालयले माफी माग्यो र उनको भर्ना रद्द गरिदियो। यो आन्दोलनपछि विश्वविद्यालयका अध्यक्षले राजीनामा दिए। यहींबाट सुरु भयो “पार्क र चोइ सुन” सम्बन्ध र त्यसको प्रभाव। सुरुमा विद्यार्थीले गरेको आन्दोलन थियो यो!
राष्ट्रपति पार्क ग्युन हेमाथि महाअभियोग लगाइयो। उनी जेल गइन्।
यो घटनामा सामसङका कार्यकारी प्रमुख ली जे योंगले पनि सजाय भोगे। उनले चोइ सुन सिलको संस्थालाई ठूलो रकम दान दिएका थिए । त्यो रकम चोइकी छोरी चुंग युराको घोडा किन्न खर्च गरिएको थियो भन्ने पनि छ।
अब हाम्रो देशको कुरा।
मिन बहादुर गुरुङले त्यति धेरै जग्गा एमालेलाई दिए। त्यहाँ अब पार्टी कार्यालय बन्नेछ। मिन बहादुर ललिता निवासको जग्गा प्रकरणमा मिसिएका व्यक्ति हुन्। उसैबाट सरकारमा रहेको पार्टीले दान लियो। त्यसको प्रभाव कस्तो पर्छ? त्यो अनुमान गर्न सकिन्छ र देख्न पनि पाईन्छ नै होला !
पार्कले प्रत्यक्ष आफैंले दान वा सहयोग लिएको देखिँदैन, तर उनले आफ्नो पदको दुरुपयोग गरिन् र आफ्नो साथीलाई ठूला व्यावसायिक संस्थाहरूबाट दान दिलाइन्। हाम्रो देशमा त यस्तो पदको दुरुपयोग कति हुन्छ कति!
यदि हाम्रो नेताहरूमा नैतिकता र इमानदारी भएको भए हामी किन कराउनु पथ्र्यो? यो आक्रोश किन पोख्नु पथ्र्यो?
एमालेका नेता–कार्यकर्ता बोल्न सक्दैनन्। कांग्रेस र माओवादी पनि बोल्न सक्दैनन्। उनीहरूमा यो विषयमा बोल्ने नैतिकता छैन। बाँकी साना पार्टीहरूले बोल्न खोज्छन् तर बोल्न थालेपछि कि सकिन्छन्, कि सकाइन्छ।
अनि हामी जनता? निरिह छौं। बोलेर के हुन्छ भन्ने गरि निरास भईसकेका छौं।
धेरै कुरा लेख्छु भन्ने थियो तर “मैले लेखेर के हुन्छ?” भन्ने मलाई पनि लाग्न थालिहाल्यो !
तर नेताको उपहार र त्यसको प्रभावबारे खोजी गर्नुपर्ने बेला पक्कै आएको छ। कम्तिमा सोध्नैपर्छ: “तपाईंको जागिर छैन, व्यापार छैन, कुनै दिगो आम्दानी छैन तर पनि तपाईं कसरी सहरमा घर बनाउनुहुन्छ? कसरी गाडी चढ्नुहुन्छ? छोराछोरी महंगा स्कुलमा कसरी पढाउनुहुन्छ? यति राम्रो पोसाक, महंगा मोबाइल कहाँबाट आउँछ?”
तपाईंले पाउने दान देशको कुन कुन कुरासँग सौदा हुन्छ ?
Comments
Post a Comment